पोखरा । टेनिसका प्रदिप खड्का र भलिबलकी अरुणा शाही वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार पोखरामा सम्पन्न छैटौं पोखरा स्पोर्ट्स अवार्डमा वर्ष पुरुष उत्कृष्ट खेलाडीतर्फ टेनिसका प्रदिप खड्का घोषित भएका हुन् ।
उनले कराँतेका वुद्ध लामा र व्याडमिन्टनका विधान अधिकारीलाई पछि पार्दै वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भए ।
त्यस्तै महिलातर्फ नेपाली महिला टिमकी टिम कप्तान अरुणा शाही वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भइन् । उनले क्रिकेटकी मनिषा उपाध्यय र कराँतेकी सरगम कुमाललाई पछि पार्दै उत्कृष्ट खेलाडी उपाधि जित्न सफल भइन् । दुवै जनाले २ लाख १० हजारको इलेक्ट्रिक स्कुटर र ट्रफी प्राप्त गरे ।
लाइफ टाइम अचिभमेन्टबाट पोखराका अग्रज खेलाडी गणेशबहादुर भट्टराई सम्मानित भए । उत्कृष्ट प्रशिक्षकको अवार्ड टेनिसका निरज थापाले हात पारे । उनले नगद ३५ हजार नगद प्राप्त गरे । त्यस्तै उदियमान खेलाडीको उपाधि टेनिसका दर्शिल श्रेष्ठले प्राप्त गरे । उनले नगद ३५ हजार प्राप्त गरे ।
वर्ष उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड कान्तिपुरकर्मी दिपक परियारले प्राप्त गरे । उनले नगद ३५ हजार हात पारे । उत्कृष्ट खेल संघको रुपमा नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेश घोषित भएको छ ।