पोखरा । छैटौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड–२०७८ शनिबार हुँदैछ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरलेको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा कुल ७ वटा विधामा अवार्ड वितरण गरिनेछ ।
लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार विधा रहेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिए ।
वर्ष खेलाडी पुरुष विधामा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदिप खड्का, वर्ष खेलाडी महिलामा भलिवलकी अरुणा शाही, क्रिकेटकी मनिषा उपाध्याय र करातेकी सरगम कुमाल, उदियमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटका श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बु, उत्कृष्ट प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजु, तेक्वान्दोकी रेकमाया गुरुङ र टेनिसका निरज थापा मनोनयन सूचीमा परेका छन् । तीमध्ये छनोट समितिले गरेको निर्णयको आधारमा उत्कृष्ट १ जनालाई अवार्ड वितरण गरिनेछ ।
लाइफ टाइम अचिभमेन्ट अवार्ड पोखराका अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई प्रदान गरिनेछ । उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार विधाको घोषणा सोही कार्यक्रममा हुनेछ । पोखरा स्पोर्टस् अर्वाड अन्तर्गत वर्ष खेलाडी पुरुष र महिलाले टेल जी ब्राण्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।
वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद पैतिस हजार रुपैयाँको साथमा ट्रफी प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए । यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यसैगरी पोखरा रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा परिवारकोतर्फबाट विगतदेखि प्रदान गर्दै आएको उत्कृष्ट खेल पत्रकार पुरस्कारलाई यस पटक समेत निरन्तरता दिइएको छ । कार्यक्रम दिउँसो ३ बजेपछि पोखरा सभागृहमा आयोजना हुनेछ ।