पोखरा । छैटौं पोखरा स्पोर्ट्स अवार्ड–२०७८ को ट्रफी सार्वजनिक गरिएको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी शनिबार आयोजना हुने स्पोर्ट्स अवार्डको ट्रफी सार्वजनिक गरेको हो ।
मञ्चका अध्यक्ष दीननाथ बराल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी लगायतले ट्रफी सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै मञ्चका अध्यक्ष बरालले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
लाइफ टाइम अचिभमेन्ट, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार गरी विभिन्न ७ वटा विधामा अवार्ड वितरण गरिने छ ।
मञ्चले विभिन्न ४ वटा विधामा उत्कृष्ट ३ को मनोनयन सूची सार्वजनिक गरिसकेको छ । वर्ष खेलाडी पुरुषमा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् ।
वर्ष खेलाडी महिलातर्फ भलिबलकी अरुणा शाही, क्रिकेटकी मनिषा उपाध्याय र करातेका सरगम कुमाल उत्कृष्ट ३ मा पर्न सफल भएका छन् भने उदियमान खेलाडीमा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकटकी श्रृष्टि जैसी र बक्सिङका शाहिल लिम्बु मनोनयनमा परेका छन् ।
उत्कृष्ट प्रशिक्षकमा क्रिकेटका रिजन प्रजु, तेक्वान्दोकी रेकमाया गुरुङ र टेनिसका निरज थापा रहेका छन् । उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार विधाको घोषणा भने सोही दिन नै सार्वजनिक गरिने मञ्चले जनाएको छ ।
लाइफ टाइम अचिभमेन्ट अवार्ड पोखराका अग्रज खेलाडी गणेशबहादुर भटराईलाई प्रदान गरिने छ । उनलाई चाँदीको करुवा, ट्रफि, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने छ ।
वर्ष खेलाडी पुरुष÷महिलाले टाइल्ग ब्राण्डको १÷१ थान इलेक्ट्रिक स्कुटर र ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ र वर्ष उत्कृष्ट खेल पत्रकारले ३५÷३५ हजार र ट्रफि प्राप्त गर्ने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।
प्रतिभा छनोट समितिको संयोजकमा मञ्चका पूर्व अध्यक्ष विनोद लामिछाने, सहसंयोजकमा सन्देश श्रेष्ठ र सदस्यमा विजय नेपाल रहेका थिए । प्रतियोगिता सम्पन्न गर्न ३० लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता पोखरा सभागृहमा दिउँसो ३ बजेपछि आयोजना हुनेछ । मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड आयोजना गर्दै आइरहेको छ ।