काठमाडौँ । अनुहारमा मन्द मुस्कान, उर्जामय जाँगर, निधारमा केहि थोपा पसिना अनि हातमा बल । यस्तै दृश्य देख्न पाईन्छ काठमाडौंको हलचोक मैदानमा ।
सशस्त्र प्रहरी बल एपीएफको खेल मैदानमा बिहानैदेखि खेलाडीको जमात देखिन्छ । त्यही भिडमा दायाँतर्फ भलिबलको कोर्ट छ । त्यही कोर्टले महिला भलिबलमा चम्किला नक्षत्र उत्पादन गरेको छ ।
महिला भलिबलको महारथी क्लब हो, एपीएफ ।
बिहान ७ नबज्दै महिला खेलाडी भलिबल कोर्टमा प्रशिक्षणका लागि उत्रन्छन् । बिहान र बेलुका लगातार ३ घण्टा उनीहरु प्रशिक्षणमा जुट्छन् । उनीहरुको दैनिकी यसरी नै बित्छ ।
‘बिहानै उठ्छौ, तयारीमा जुट्छौ । प्रतियोगितामा कसरी आफ्नो टोलीलाई अब्बल बनाउने भन्नेनै सोच हुन्छ ।’ प्रशिक्षक ज्ञानेन्द्र बिष्ट भन्छन् ।
७४ सालमा विष्टलाई महिला तथा पुरुष भलिबल टिमको प्रशिक्षकमा एपीएफले नियुक्त गरेको थियो । सोही बर्ष उनले १४ प्रतियोगितामा १२ लिग उपाधि जिताएका थिए ।
त्यसपछि घरेलु भलिबलमा एपीएफको सफलताको कथा सबैका अगाडी छर्लङ्ग छ ।
एपीएफले हरेक दिन आठ घण्टा भन्दा बढि तयारी गर्छ । जसमा उनीहरुलाई शारिरिक तथा प्राविधिक ज्ञान दिईन्छ ।
हाल एपीएफमा १५ जना महिला भलिबल खेलाडीले तयारी गरिरहेका छन् । जसमा पाँच जना राष्ट्रिय टोलीका खेलाडी छन् ।
‘हामी निरन्तर तयारीमा रहेका हुन्छौ । हाम्रो कडा मेहनतले उच्च सफलता हासिल गर्न सकेको हो ।’ हलचोक मैदानमा प्रशिक्षण गरिरहेकी कप्तान बिनिता बुढाथोकी भन्छिन् ।
एपीएफको मैदानमा देखिएको हुन्छ, खेलाडीको मेहनत, लगन र श्रम ।
त्यसकै नतिजा हो एपीएफले घरेलु प्रतियोगितामा प्राप्त गरेको सफलता ।