काठमाडौं । तेक्वान्दोका निर्णायक एवं प्रशिक्षक गोपाल भण्डारी र सञ्जीव नेपाली अमेरिका प्रस्थान गरेका छन् ।
यही जुलाई १ र २ तारिखमा अमेरिकाको भर्जिनियामा आयोजना हुन लागेको ‘यूएसए कुकिवान तेक्वान्दो एक्स्पो’ २०२२ मा अफिसियल रेफ्री जर्जको भूमिका निर्वाह गर्न गोपाल र सञ्जीव अमेरिका प्रस्थान गरेका हुन् ।
अमेरिकाकै बृहत प्रतियोगिता मानिने कुकिवान तेक्वान्दो एक्स्पोमा अफिसियल रेफ्री जर्जका लागि उनीहरु दुवैलाई आयोजकले नै छनोट गरेको बताइएको छ ।
किवान तेक्वान्दो एक्स्पो ग्रान्डमास्टर एचके लीको अध्यक्षतामा आयोजना हुन लागेको हो ।
कुकिवान तेक्वान्दो एक्स्पोअन्तर्गत जुलाई २७ देखि जुन ४ सम्म मास्टर्स कोर्स, जुन ३ र ४ तारिखमा एक्जामिनर कोर्स र जुन १ र २ मा कुकिवान तेक्वान्दो च्याम्पियनसिप आयोजना हुने तेक्वान्दो प्रशिक्षक एवं निर्णायक गोपाल भण्डारीले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा विभिन्न मुलुकका एक हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
गोपाल गत नोभेम्बरमा अन्तर्राष्ट्रिय मास्टर्स एक्जामिनर कोर्समा सहभागी हुन अमेरिका पुगेका थिए । अमेरिका बसाइँका क्रममा टेक्सास राज्यमा आयोजना भएको डालस फोर्ट वर्थ ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा उनले स्वर्ण पदक जितेका थिए । यस्तै ४३औं क्यापिटल नेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा भने रजत पदक जितेका थिए ।
यसैगरी गत नोभेम्बर १६ देखि २२ सम्म भएको ८०औं अन्तर्राष्ट्रिय मास्टर्स तथा एक्जामिनर कोर्स उतीर्ण गरेका उनले विभिन्न प्रतियोगितामा अफिसियल रेफ्रीजर्जको भूमिका निर्वाह गरेका थिए ।
गत डिसेम्बरमा अमेरिकाकै न्यु जर्सीमा भएको मेट्रो इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप, टेक्सास राज्यको हुस्टनमा जनवरी १४ र १५ मा भएको यूएस मास्टर्स कप, फ्रेब्रअरी १९ मा भर्जिनिया राज्यमा भएको भर्जिनिया स्टेट तेक्वान्दो च्याम्पियनसिप र अप्रिल ३ न्युजर्सीमा भएको स्टेट च्याम्पियनसिपमा पनि अफिसियल जर्जरेफ्रीको भूमिका निर्वाह गरेका थिए ।
यसैगरी सञ्जीवले सन् २०२१ मे ८ मा अमेरिकामा आयोजना भएको नर्थ क्यारोलिना इन्टरनेसनल च्याम्पियनसिप र सन् २०२१ सेप्टेम्बर ११ र १२ मा भएको फ्लोरिडा ओपन अनलाइन च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेका थिए ।