काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले अखिल नेपाल फुटबल संघ (एन्फा) का अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई शनिबार स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना दिएका छन् ।
त्रिपुरेश्वरस्थित सदस्य सचिवको कार्यालयमा घिसिङले पाँडेलाई खादा लगाउँदै स्वागत गरेका थिए । स्वागत गर्दै घिसिङले पाँडेले अन्तराष्ट्रिय फुटबलमा नेपालको नाम फैल्याउने विश्वास व्यक्त गरे।
'देशकै सबभन्दा लोकप्रिय खेलको संस्था एन्फाको महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त हुनुभएकोमा तपाईंलाई हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्न चाहान्छु,' घिसिङले भने, 'स्वयम्सेवक भूमिकामा तपाईंको सहयोगमा एन्फाले अन्तर्राष्ट्रिय फुटबलमा नेपालको नाम फैलाउन सकोस, अन्य देश र व्यवसायिक क्लबहरुसँगको सम्बन्ध राम्रो होस् ।'
सदस्यसचिव घिसिङले नेपाल र जर्मनीबीच संस्था र सरकारको तहमा खेलकुद विकासका लागि सम्बन्ध विस्तार गर्नका लागि पहल गर्न पनि आग्रह गरे ।
अर्बपति अमेरिकी वारेन वफेटको कम्पनी टीटीआई युरोपमा निर्देशकसमेत रहेका पाँडेले नेपाली फुटबल र खेलकुदको विकासका लागि सदैव पहल र सहयोग गर्न तयार रहेको बताए ।
पाँडे जर्मन एनअआरएन हुन् । ४ वर्षअघि पनि उनले छोटो समय एन्फामा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखको रुपमा काम गरेपछि राजिनामा दिएका थिए ।
ए डिभजन क्लब हिमालयन शेर्पामार्फत नेपाली फुटबलमा फर्किएका उनी कपनमा सञ्चालित काठमाडौं किकर्सका अध्यक्ष पनि हुन् ।
किकर्सले स्कटिस प्रशिक्षक ली मेन्सन (युईएफए बी लाइसेन्स) ल्याएर कपअन स्पोर्ट्स सेन्टर, कपनमा फुटबल एकेमेमी सञ्चालन गरिरहेको छ ।