पोखरा । छैटौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड–२०७८ आगामी शनिबार आयोजना हुने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुन लागेको अवार्डमा विभिन्न ७ वटा विधामा अवार्ड प्रदान गरिने छ ।
लाइफ टाइम अचिभमेन्ट, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकार गरी ७ वटा विधामा अवार्ड वितरण गरिने भएको हो ।
मञ्चले शनिबार पत्रकार सम्मेलन गरी विभिन्न ४ वटा विधामा उत्कृष्ट ३ मनोनयको सूची सार्वजनिक गरेको छ । वर्ष खेलाडी पुरुषमा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् ।
वर्ष खेलाडी महिलातर्फ भलिबलकी अरुणा शाही, क्रिकेटकी मनिषा उपाध्याय र करातेका सरगम कुमाल उत्कृष्ट ३ मा पर्न सफल भएका छन् भने उदियमान खेलाडीमा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकटकी श्रृष्टि जैसी र बक्सिङका शाहिल लिम्बु मनोनयनमा परेका छन् ।
उत्कृष्ट प्रशिक्षकमा क्रिकेटका रिजन प्रजु, तेक्वान्दोकी रेकमाया गुरुङ र टेनिसका निरज थापा रहेका छन् । प्रतिभा छनोट समितिको संयोजकमा मञ्चका पूर्व अध्यक्ष विनोद लामिछाने, सहसंयोजकमा सन्देश श्रेष्ठ र सदस्यमा विजय नेपाल रहेका थिए । ७ मध्ये बाँकी ३ वटा विधाको मनोनयन सूची छिट्टै नै सार्वजनिक गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।
लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुनेका लागि चाँदीको करुवा, ट्रफि, ताम्रपत्र र दोसल्ला रहेको छ । वर्ष खेलाडी पुरुष÷महिलाले १÷१ थान इलेक्ट्रिक स्कुटर र ट्रफि प्राप्त गर्ने छन् । त्यस्तै वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ र वर्ष उत्कृष्ट खेल पत्रकारले ३५÷३५ हजार र ट्रफि प्राप्त गर्नेछन् । उत्कृष्ट ३ को मनोनयन सुचीमा परेकाहरुलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिने मञ्चले जनाएको छ ।
अवार्डलाई सफल बनाउन मञ्चका अध्यक्ष बरालको संयोजकत्वमा मुल आयोजक समिति समेत गठन गरिएको छ । समितिको सहसंयोजकमा उपाध्यक्ष सुरज श्रेष्ठ रहेका छन् । त्यस्तै मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको छ ।
वैदेशिक समन्वय समितिको संयोजकमा पूर्व अध्यक्ष केशव पाठक, आर्थिक उपसमिति संयोजकमा कोषाध्यक्ष कविता घर्तिमगर, प्रचारप्रसार उपसमिति संयोजकमा महासचिव राजाराम पौडेल, संघसंस्था समन्वय समिति संयोजकमा नारायण शाही, कार्यक्रम व्यवस्थापन उपसमिति संयोजकमा मन क्षेत्री र भिडियोग्राफी संयोजकमा उमेश पुन रहेका छन् ।
वर्ष उत्कृष्ट पत्रकारिता अवार्डका लागि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी र सन्देश श्रेष्ठ रहेको प्रतिभा छनोट समिति गठन गरिएको छ । त्यस्तै गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, सहारा क्लब, होटल पौवा लेकसाइड, जुजु वेर्यस र चिल्लीबार एण्ड रेष्टुरेष्ट सहयोगी संस्थाका रुपमा रहेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै मञ्चका अध्यक्ष बरालले इभेन्टले खेलकुदकर्मीहरुलाई प्रोत्साहन गर्न मद्दत पुग्ने बताए । प्रतियोगिता सम्पन्न गर्न ३० लाख खर्च लाग्ने बरालले बताए । पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले अवार्ड समग्र प्रदेशकै गैरब भएको उल्लेख गरे । उनले प्रतियोगिता सफल बनाउन सहकार्य गर्ने प्रतिवद्धता समेत जनाए ।
पूर्व अध्यक्ष एवं छनोट समिति संयोजक लामिछानेले खेलाडीहरुले वर्ष गरेको प्रदर्शन र प्राप्त मेडलका आधारमा उत्कृष्ट खेलाडी छनोट गरिएको बताए । प्रतियोगिता असार १८ गते पोखरा सभागृहमा आयोजना हुने छ । मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड आयोजना गर्दै आइरहेको छ ।