पोखरा । पोखरामा जारी छैटौं नेपाल आइस अन्तराष्ट्रिय आमन्त्रण शुभकामना गोल्डकपको फाइनलमा क्यामरुनी क्लब एभिनियर र हेम्जा युनाइटेड भिड्दै छन् ।
हेम्जा युनाइटेडको आयोजनामा पोखरा–२५ हेम्जास्थित गौरीशंकर खेलमैदानमा शनिबार उपाधिका लागि आयोजक र एभिनियरबीच प्रतिस्पर्धा हुदैँछ ।
हेम्जाले सेमिफाइनलमा खुमलटार युथ क्लबलाई २–० गोलले हराउँदै फाइनल प्रवेश गरेको हो भने एभिनियरले चर्च ब्वाइज क्लबलाई २–१ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै आयोजक हेम्जा युनाइटेडका प्रशिक्षक सुवर्णजंग कार्कीले एभिनियर विदेशी टिम भएकाले आफुहरुलाई खेल जित्न भन्दापनि खेलमा अनुभव लिनु ठुलो कुरा रहेको बताए । एभिनियर शारीरिक रुपमा बलियो रहेपनि आफुहरु त्यसका लागि तयारी अवस्थामा रहेको उनले बताए ।
एभिनियरका प्रशिक्षक आसिक थापा मगरले फाइनल खेल बराबरीको हुने प्रतिक्रिया दिए । गोलरक्षक तथा कप्तान कोभास्सिले फाइनलका लागि योजना बनाएर खेल्ने बताए । उनले आफुहरु जित्नका लागि आएको र उपाधि उचाल्न भरपुर मिहेनत गर्ने बताए ।
असार ४ गतेदेखी सुरु भएको प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा विभागीय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोटर््स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेडको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् ।
सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेनडर, फिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०÷२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।