काठमाडौं । आयोजक नेक्सस क्रिकेट एकेडेमी यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । नेक्सस समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको प्रतियोगितामा नेक्ससले आस्था कलेज, झापालाई १५ रनले पराजित गर्यो । यसअघि नेक्ससले ओसिसलाई हराएको थियो । सहभागी १२ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट विजेता सीधै सेमिफाइनलमा पुग्ने प्रावधान छ ।
पहिले ब्याटिङ गरेको नेक्ससले वर्षाका कारण छोट्याइएको निर्धारित १३ ओभरमा ८ विकेट क्षतिमा ७८ रनको योगफल तयार गर्यो । नेक्ससका सार्थक धितालले ३१ बलमा २ चौका र २ छक्का मद्दतमा ३६ रन जोडे । ‘म्यान अफ द म्याच’ नेक्ससका सन्दिप विष्टले १५ बलमा १८ रन बनाए । उनले २ चौका प्रहार गरे । बलिङमा सन्दिपले २ विकेट पनि हात पारे । आस्थाका दिभ्यम एडले ३ विकेट झारे ।
प्रत्युउत्तरमा आस्था १३ ओभरमा ७ विकेट गुमाउदै ६३ रनमा खुम्चियो । आस्थाका भूपालकुमार डंगालले १९ बलमा १६ रन जोडे । त्यसमा १ छक्का समेल थियो । नेक्ससका अशोक धामीले २ विकेट लिए ।