काठमाडौं । भक्तपुर क्रिकेट सेन्टर (बीसीसी) र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) ले यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा मंगलबार सफलता हात पारेका छन् ।
नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा बीसीसीले नेक्सस क्रिकेट एकेडेमी ११ लाई ३८ रनले पराजित गर्यो।
बीसीसीले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १२४ रन बनायो । बीसीसीका श्रीराजवीर श्रेष्ठले ५४ बलमा ४० तथा विज्ञान अधिकारीले २३ बलमा २२ रन जोडे । त्यसमा श्रीराजले १ तथा विज्ञानले ३ चौका प्रहार गरे । नेक्ससका सोहन ढुंगानाले ३ ओभरमा १० रन खर्चदै ३ विकेट लिए ।
नेक्सस १८.३ ओभरमा अलआउट हुनुअघि ८६ रनमा समेटियो । नेक्ससका राहुल अग्रीले ३१ ब्लमा ५ चौका मद्दतामा ३४ रन बनाए । ‘म्यान अफ द म्याच’ बीसीसीका दक्ष बरालले ४ ओभर बलिङमा ३.५० को औसतमा १४ रन दिदै ३ विकेट लिए । ४ ओभरमै ३.७५ को औसतमा १५ रन खर्चेका बीसीसीकै टकमान चौधरीले पनि ३ विकेट हात पारे ।
बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा मूलपानी क्रिकेट मैदानमा जारी प्रतियोगिताको अर्को खेलमा केसीटीसीले एन्जल्स स्पोर्ट्स क्रिकेट एकेडेमीलाई १ विकेटले हरायो ।
एन्जल्सले पूरा २० ओभर खेल्दै सबै विकेट गुमाएर ९३ रन जोड्यो । एन्जल्सका युनिशविक्रम सिंहले ३९ बलको सामना गर्दै ५१ रन बनाए । उनले ३–३ चौका र छक्का प्रहार गरे । एन्जल्सकै दिवस कुँवरले ८ बलमा १८ रन जोडे । ‘म्यान अफ द म्याच’ केसीटीसीका विनित पन्थीले ४ ओभरमा १२ रन दिएर ३ विकेट लिए भने एन्जल पौडेलले २ विकेट हात पारे ।
जवाफमा केसीटीसीले १९.४ ओभरमा ९ विकेट क्षतिमा ९४ रन जोड्यो । केसीटीसीका अभिषेक उपाध्यायले ३१ बलको सामना गर्ने क्रममा २७ रन बनाए । एन्जल्सका दिवस कुँवरले ३ विकेट चट्काए ।