काठमाडौं । एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ।
मलेसियाको किनरारा ओभलमा मंगलबार नेपाल हङकङसँग ७ विकेटले पराजित भएको हो ।
यस जितसँगै हङकङ समूह 'बी' विजेता सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल भने समूह उपविजेता बनेको छ ।
एक खेल खेल्न बाँकी रहेको हङकङले ३ खेलमा ६ अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा रहेको छ ।
नेपाल ४ खेलमा ६ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।
नेपालले सेमिफाइनमा समूह 'ए' को विजेतासँग खेल्नेछ ।

नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
हङकङको जितमा मारिको हिलले सर्वाधिक ४५ रन जोडिन । नताषा मिल्सले अविजित २८ तथा कप्तान कारी चानले १७ रन बनाईन् ।
नेपालकी संगीता राईले २ तथा सीता मगरले १ विकेट लिईन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहदै ३२ रनको योगदान गरिन् । अप्सरी बेगमले अविजित २२ रन बनाईन् ।
यस्तै बिन्दु रावलले २३ रन जोड्दा सीता मगरले ९ रन जोडिन् । ममता चौधरी ७, कविता जोशी ४, काजल श्रेष्ठ १ र इन्दु वर्मा सुन्य रनमा आउट भईन् ।
हङकङकी बेट्टी चानले २ तथा मार्याम बीबी र एलिसा हब्बार्डले १/१ विकेट लिए ।

च्याम्पियनसिप अन्तर्गत नेपालले यस अघि भुटानलाई ५० रन , कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो ।
च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।