काठमाडौं । आयोजक नेक्सस क्रिकेट एकेडेमीले यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ सोमबार विजयी सुरुआत गरेको छ ।
मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेक्ससले ओसिस् क्रिकेट एकेडेमीलाई ९१ रनको फराकिलो अन्तरले पराजित गर्यो । पहिले ब्याटिङ रोजेको नेक्ससले निर्धारित २० ओभरमा २ विकेट क्षतिमा १६० रनको योगफल खडा गर्यो ।
नेक्ससका लागि ‘म्यान अफ द म्याच’ उत्तम मगरले ३८ बलमा ६९ रन जोडे । उनले ३ चौका र ५ छक्का प्रहार गरे । सन्दिप विष्टले २ चौका र २ छक्का मद्दतमा ४१ रन बनाए भने विवेक यादवले २९ रन जोडे । बलिङतर्फ ओसिसका इशान शाहले २ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रेको ओसिस १७.१ ओभरमा ६९ रनमा अलआउट भयो । नेक्ससका समिर विष्टले ४ तथा अशोक धामीले २ विकेट चट्काए ।
अर्को खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएसीए), ललितपुरले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) लाई ६ विकेटले हरायो ।
टस जितेर ब्याटिङ गरेको केसीटीसीले निर्धारित २० ओभरमा ८ विकेट नोक्सानीमा १०५ रनको लक्ष्य प्रस्तुत गर्यो । केसीटीसीका अभिषेक उपाध्यायले ३८ तथा राजकरण शर्माले ३२ स्कोर गरे । प्रत्युत्तरमा जिएचसीएले १८.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य भेटायो । जिएचसीएका अली अक्बर अन्सारीले ५४ बलमा ५३ रन जोडे । ‘म्यान अफ द म्याच’ उनले ६ चौका र १ छक्का हाने ।
प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्कीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेको आयोजक नेक्ससका अध्यक्ष भरतकुमार शाहीले जनाएका छन् । बा
ग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भइरहेको प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । फाइनल असार १४ गते हुने छ ।