काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज सोमबार बहराइनसँग प्रतिस्पर्धा गर्दैछ ।
किनरारा ओभलमा नेपालले तेस्रो खेल बहराइनको सामना गर्न लागेको हो । नेपाल र बहराइनबीचको खेल बिहान ८:१५ बजे सुरु हुनेछ ।
बहराइनविरुद्ध मैदान उत्रदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । यस्तै नेपाल सेमिफाइनल पुग्न चाहन्छ ।
बहराइन नेपालको लागि नौलो प्रतिद्वन्दी हो । यस अघि नेपालले बहराइनसँग खेलेको छैन ।
समूह 'बी' मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले २ खेलमा ४ अंक जोडेको छ ।
बहराइनलाई हराएमा नेपाल एक खेल अगाबै सेमिफाइनलमा पुग्नेछ ।
बहराइन २ खेलमा १ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
यस अघि नेपालले भुटानलाई ५० रनले हराएको थियो । त्यस्तै कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको थियो ।
नेपालले अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।
च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।