काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ ।
किनरारा ओभलमा शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो ।

कुवेतका लागि प्रियादा मुरालीले ३१ रन जोडिन् । यस्तै मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन बनाईन्।
नेपालकी सीता राना मगरले २ तथा अश्मिना कर्माचार्य, संगीता राई र इन्दु वर्माले एक एक विकेट लिईन् ।
त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहदै सर्वाधिक ३४ रन जोडिन् । यस्तै इन्दु बर्माले अविजित २८ रन बनाईन ।
यस्तै ज्योति पाण्डेले १५ तथा बिन्दु रावलले ११ रन जोडिन् । सीता मगर र काजल श्रेष्ठले ५/५ रन जोडिन् ।
कुवेतकी मारिमा हेदरले २ तथा मार्यम ओमार र खादिजा खालिलले १/१ विकेट लिईन् ।

यस जितसँगै नेपालले २ खेलमा ४ अंक जोडेको छ । समूह 'बी' मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ ।
जितपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।
शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो ।
कुवेतले २ खेलमा १ अंक जोडेको छ । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजा विहीन बनेको थियो ।
कुवेत समूहको तेस्रो स्थानमा रहेको छ ।

अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।
च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।