काठमाडौं । सन् सत्तरीतिर वान डे क्रिकेट सुरु हुँदा त्यसको आलोचना गर्ने अनेक थिए । त्यो समय वान डे क्रिकेट आफैमा क्रान्ति थियो । अब त वान डे क्रिकेट पनि आफैमा पुरानो भइसकेको छ, सायद केही हदसम्म यसको रंग खुइलिसकेको छ, किनभने अचेलको समय हो, ट्वान्टी ट्वान्टी क्रिकेट । कम समयमा टुंगिने रोमाञ्चक क्रिकेट हेर्नु छ भने ट्वान्टी ट्वान्टी क्रिकेट हेर्नु । होइन, समय पनि छ, धैर्यता पनि छ भने टेस्ट क्रिकेट त छँदैछ, यो कहीं जाने छैन् ।
अहिले तत्काल वान डे क्रिकेटको चर्चा किन भन्दा हिजो शनिबार मात्रै इंग्ल्यान्डले एउटा कीर्तिमान बनायो, सर्वाधिक स्कोरको । सन् सत्तरीतिर फर्केर यही यस्तो स्कोर पनि बन्छ भनेर कसैले भनेको भए, सायद हात हालाहालकै स्थिति हुन्थ्यो । अचेल यस्तो हुन्न, यसलाई स्वभाविक मान्ने धेरै भए । बरू प्रश्न हो, वान डे क्रिकेटमा पाँच सयको स्कोर कहिले बन्छ त ? उत्तर हो, त्यो दिन टाढा छैन्, जति बेला साँच्चै ५० ओभरको क्रिकेटमा ठ्याक्कै पाँच सय रन बन्ने छ ।

‘ह्वाइट बल’ क्रिकेटका एक नामी खेलाडी हुन्, इंग्ल्यान्डका जस बटलर । भर्खर सकिएको इन्डियन प्रिमियर लिग २०२२ का पनि उनी नायक खेलाडी थिए । उनी पनि मान्छन्, अब पाँच सय रनको त्यो जादुयी अंक छुन धेरै समय लाग्ने छैन् । आम्सटेलभिनमा भएको हिजाको खेलमा नेदरल्यान्ड्सविरुद्ध इंग्ल्यान्डले चार विकेट गुमाएर ४ सय ९८ रन जोडेको थियो । सन् २०१८ मा पनि इंग्ल्यान्डले ट्रेन्ट ब्रिजमा अष्ट्रेलियाविरुद्ध छ विकेटमा ४ सय ८१ रन बनाएको थियो ।
लिस्ट ‘ए’ कै कुरा गर्ने हो भने सन् २००७ मा सरेले चार विकेटमा ४ सय ९६ रन बनाएको थियो । यो सबै प्रदर्शनलाई हिजोको खेलले उछिनेको छ । बटलर एक्लैले त्यस इनिङसमा ७० बलको मात्र सामना गरे, तर बनाएका थिए, १ सय ६२ रन । त्यसमा १४ छक्का र सात चौका सामेल थियो । त्यस इनिङसमा शतक बनाउने उनी मात्र एक्ला ब्याटर थिएनन्, डाविड मालान र फिल साल्टले पनि शतक बनाए । अनि लियाम लिभिङस्टोन पनि के कम ?
उनले २२ बलमा ६६ रन बनाए । इंग्ल्यान्डको स्कोरलाई पाँच सय रन पुर्याउन उनले अन्तिम दुई बलमा १२ रन बनाउनु पर्ने थियो, तर खालि दस रन मात्र सके, एक चौका र एक छक्का । बटलरले खेलपछि भने, ‘फेरि एकपल्ट हामी पाँच सय रनको नजिक पुग्यौं, तर छुन भने सकेनौं । हाम्रो प्रयास जारी रहनेछ र एक दिन न एक दिन यो उपलब्धी पनि हात पर्ने नै छ । पाँच सय रनको स्कोरको कोशेढुंगा उपलब्धी अब धेरै टाढा छैन् ।’

खासमा पछिल्लो एक दुई शतकयता समग्र क्रिकेट नै धेरै परिवर्तन भएको छ । भन्नेहरू के भन्छन् भने क्रिकेट जत्तिको फेरिएको खेल अर्को विरलै होला । अनि यो खेलको परिवर्तन हुने छवि आफैमा फेरिने पनि छैन् । अबको जमाना ट्वान्टी ट्वान्टी क्रिकेट हो भने त्यसको प्रभाव वान डे क्रिकेटमा पनि पर्ने नै भयो । फेरि ट्वान्टी ट्वान्टी क्रिकेट भनेकै एक प्रकारले चौका छक्का प्रहार गर्नु न हो । यस्तोमा २० ओभरको यो प्रवृत्ति ५० ओभरको खेलमा सर्न कति नै समय लाग्नेछ र ?
–एजेन्सीहरूको सहयोगमा ।