काठमाडौं । १९ औं एशियाली खेलकुदको तयारीमा रहेको कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले राखेपमा सोमबार शुभकामना सहित गरेका छन् ।
बिदाइ गर्ने क्रममा सदस्य सचिव घिसिङले यो प्रशिक्षणमात्र नभई बन्द प्रशिक्षणकै प्रकृया भएको बताए । उनले यो प्रशिक्षण ९ औं राष्ट्रिय खेलकुदका लागि सुरुवाती प्रशिक्षण समेत रहेको भन्दै एशियाली खेलकुदको मिति तय नभएता पनि खेलाडीहरुको स्तर बृद्धि गर्न यस कार्यक्रमले सहयोग पुग्ने बताए ।
सदस्य सचिव घिसिङले खेलाडीहरुलाई अनुशासित रहेर प्रशिक्षण लिन र स्तर बृद्धिका लागि अध्ययन र अनुसन्धानलाई पनि महत्व प्रदान गर्न प्रशिक्षक र खेलाडीलाई सुझाव दिए ।
राष्ट्रिय खेलकुद परिषदले १९ औं एशियाली खेलकुदमा सहभागी हुने २३ खेलका पहिलो चरणमा छनोट भएका खेलाडीहरुका लागि पहिलो चरणको प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
कबड्डीले महेन्द्रनगरमा आफ्नो एक महिने प्रशिक्षण गर्नेछ । १५ सदस्यीय खेलाडी, ४ प्रशिक्षक आजै त्यसतर्फ प्रस्थान गरेका छन् ।