काठमाडौं । चौथो संस्करणको आरबीबी–एनभिए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिता पुसको पहिलो साता आयोजना हुने भएको छ ।
आयोजक नेपाल भलिबल संघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुसको पहिलो साता पोखरामा आयोजना हुने जानकारी दिएको हो । पोखरा रंगशालामा हुने प्रतियोगिता पुस १ देखि ७ गतेसम्म संचालन हुनेछ । संघले पहिलोपटक काठमाडौं बाहिर लिग आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा गत फागुन १३ गतेदेखि १९ गतेसम्म भएको एनभिए राष्ट्रिय क्लब च्याम्पियनसिपका उत्कृष्ट ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, मणिमुकुन्द भलिबल क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, ढोरपाटन ट्रेनिङ सेन्टर र नयाँ बजार युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको विजेताले २ लाख प्राप्त गर्दा उपविजेताले १ लाख पाउनेछन् । यस्तै तेस्रोले ५० हजार र चौथोले २५ हजार पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । विधागततर्फ लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले समान ५-५ हजार नगद पुरस्कार पाउने छन् ।
यस्तै प्रतियोगितामा एक टिमले कम्तीमा ३ विदेशी खेलाडी राख्न पाउने प्रावधान राखिएको संघले जनाएको छ ।
प्रतियोगिताका लागि ८ टोली तथा अफिसियलहरुको खाने र बस्ने व्यवस्था आयोजकले मिलाएको छ ।
महिलाको यस प्रतियोगिता भने गत जेठमै सम्पन्न भईसकेको छ । नेपाली पुरुष टिम इन्डोनेसियामा सम्पन्न एसियन गेम्सको तयारीमा रहेको कारण पुरुषको यस प्रतियोगिता सारिएको थियो ।