काठमाडौं । मलेसियाको मुख्य क्रिकेट मैदान किनरारा ओभल बन्द हुने भएको छ ।
मलेसिया क्रिकेट एसोसियसनले मैदानको जग्गाधनीसँगको सम्झौता अन्त्य गरेको छ ।
किनरारा ओभल जुन ३० बाट औपचारिक रुपमा बन्द हुनेछ ।
मलेसिया क्रिकेटले एसोसियसनले मंगलबार विज्ञप्ति निकाल्दै जुन ३० बाट किनरारा ओभल खाली गर्ने सहमति भएको जनाएको छ ।
किनरारामा अब अन्तिम प्रतियोगिता आईसीसी यू-१९ महिला विश्वकपका लागि एसिया छनोट हुनेछ । छनोट जुन १ देखि १० सम्म आयोजना हुनेछ ।
किनरारा ओभललाई मलेसियाले पछिल्लो १८ वर्षबाट मुख्य मैदानको रुपमा प्रयोग गर्दै आइरहेको थियो ।
तर, पछिल्लो समय मलेसिया क्रिकेट र जग्गाधनीबीच भुक्तानीको विषयमा विवाद हुँदै आइरहेको थियो ।
किनरारा ओभल २००३ मा बीसीसीआई र न्युजिल्याण्डको सहयोगमा बनाईएको थियो ।
त्यसयता किनरारामा १० पुरुष एकदिवसीय अन्तराष्ट्रिय, १८ पुरुष टी-ट्वान्टी अन्तराष्ट्रिय, ६ महिलाको एकदिवसीय अन्तराष्ट्रिय, २५ महिला टी-ट्वान्टी अन्तराष्ट्रिय र २५ युथ एकदिवसीय अन्तराष्ट्रिय खेल भएको छ ।
