धनगढी । नेपाली क्रिकेटमा लोकेश बम परिचित नाम हो । युवा खेलाडी लोकेशले आक्रामक ब्याट्सम्यानको परिचय बनाएका छन । ओमानमा गत फेब्रुअरीमा भएको पाँच देशीय टी–२० क्रिकेट शृंखलाका क्रममा यूएईविरुद्धको खेलमा उनले ड्रिम डेब्यू गरेका थिए ।
त्यसयता उनले राष्ट्रिय क्रिकेट टोलीबाट ८ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसके । डेब्यू खेलमै उनले ओमानविरुद्ध २१ बलमा २ चौका र २ छक्कासहित ३३ रन जोडेका थिए । उक्त शृंखलाअघि काठमाडौंमा भएको प्रधानमन्त्री कप(पीएम) राष्ट्रिय टी–२० कपमा आक्रामक ब्याटिङ गरेपछि उनलाई प्रशिक्षक पुबुदु दासानायकेले सोझै राष्ट्रिय टोलीमा बोलाएका थिए ।
पीएम कपमा एपीएफ क्लबलाई च्याम्पियन बनाउने क्रममा उनले सेमिफाइनलमा विभागीय बलियो क्लब त्रिभुवन आर्मी क्लबविरुद्ध १४ बलमै अर्धशतक प्रहार गर्दै सनसनी मच्चाएका थिए । जुन घरेलु राष्ट्रिय टी–२० इतिहासकै सर्वाधिक छिटो अर्धशतक समेत थियो । उक्त खेलमा समग्रमा लोकेशले १८ बलमा २ चौका र ९ छक्कासहित ६६ रनको नटआउट इनिङ खेलेका थिए ।
पीएम कपमा लोकेशको सनसनी बागमती प्रदेशविरुद्ध पनि देखियो । बागमती प्रदेशविरुद्ध लोकेशले २१ बलमै अर्धशतक प्रहार गरेका थिए । फाइनलमा नेपाल पुलिस क्लबविरुद्ध १५ बलमा १ चौका र ३ छक्कासहित २७ रन जोड्दै प्रभावशाली प्रदर्शन गरेपछि प्रशिक्षक दासानायकेले लोकेशलाई सोझै राष्ट्रिय टोलीमा बोलाएका थिए ।
यीनै प्रतिभाशाली लोकेश क्रिकेटको शहर धनगढीमा अवस्थित सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए)मा प्लस टूमा अध्ययनरत छन । उनको प्रतिभा चिन्दै एसपीएले उनलाई पूर्ण छात्रवृत्तिमा अध्ययनको व्यवस्था मिलाएको छ ।
एसपीएका प्रबन्ध निर्देशक तथा धनगढी क्रिकेट एकेडेमी(डीसीए)का अध्यक्ष सुवाश शाहीले उनलाई उक्त खेलसँगसँगै क्रिकेट करिअर अघि बढाउने अवसर प्रदान गरेका हुन् ।
‘सर(सुवाश शाही) र डीसीए नभएको भए सायद म यहाँ हुन्थेन । म सामान्य खेलाडी हुँदा नै कलेज र एकेडेमीमा छात्रवृत्तिको अध्ययन गर्दै उहाँहरुले मलाई अघि बढ्न प्रेरित गरिरहनुभयो,’ लोकेश भन्छन्, ‘मलाई क्रिकेट अगाडि बढाउन कलेजले जहिलेपनि सहज पारिदिन्थ्यो । एसपीएको विधार्थी भन्न पाउँदा आफूलाई गौरव महसुस गर्छु ।’
एसपीएमै स्नातकमा अध्ययनरत नारायण जोशीले नेपालको जर्सीमा उमेर समूहको यू–१६ प्रतियोगिता खेलिसकेका छन् । सन् २०१७ मा थाईल्यान्डमा भएको एसीसी यू–१६ इस्र्टन रिजन प्रतियोगितामा नारायणको सानदार प्रदर्शनको मद्दतमा नेपालले उपाधि उचालेको थियो । अलराउण्डर नारायणले डेब्यू खेलमै थाईल्यान्डविरुद्ध ७ ओभरमा १७ रन खर्चेर ५ विकेट लिएका थिए ।
म्यानमारविरुद्धको अर्को खेलमा नारायणले ३ ओभरमा २ मेडन सहित १ रन खर्चेर ४ विकेट लिएका थिए । नेपालले फाइनलमा मलेसियालाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो । उक्त खेलमा नारायण २३ बलमा ५ चौका र १ छक्का सहित ४६ रनमा नटआउट रहे ।
सन् २०१९ मा नोभेम्बरमा भारतमा भएको यू–१९ च्यालेन्जर ट्रफीका लागि उनलाई बन्द प्रशिक्षणमा समेत बोलाइएको थियो । तर बन्द प्रशिक्षणको क्रममा ढाडका समस्याका कारण उनले टोलीमा स्थान बनाउँन सकेनन । तर उनी पछिल्लो समय सुदूरपश्चिम प्रदेशबाट नियमित घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
एसपीएमै स्नातक अध्ययनरत अर्का उमेर समूहका अन्तर्राष्ट्रिय खेलाडी हुन्, बसन्त कार्की । २०२१ मा यूएईको सारजहामा भएको एसीसी यू–१९ एसिया कपमा श्रीलंकाविरुद्ध खेल्दै डेब्यू गरेका थिए । त्यसयता भने उनी सुदूरपश्चिम प्रदेशबाट निरन्तर खेल्दै आएका छन् । एसपीएसँगै डीसीएमा पनि उनी छात्रवृत्ति पाएर आफ्नो खेल यात्रा अघि बढाईरहेका छन् ।
कविता कुँवर सिनियर राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य अलराउण्डर हुन् । एसपीएमा प्लस टूमा अध्ययनरत् कविताले शुक्रबारसम्म २२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकिन् । दायाँ हाते मध्यम गतिकी बलर कविताले २२ खेलमा २१ अन्तर्राष्ट्रिय विकेट समेत लिएकी छिन् ।
एसपीएले सधै परेको बेला सहयोग गरेकाले आफ्नो रोजाईमा यही कलेज परेको उनी बताउँछिन् ।
‘एसपीएले हामी खेलाडीलाई हरेक क्षेत्रमा राम्रो गरेको छ । हामीलाई अध्ययनसँगै खेल अघि बढाउन चाहिने सम्पूर्ण सानो तिनो कुरामा सहयोग गरेको छ,’ कविता भन्छिन्, ‘हामीलाई अवसर, खेल सामाग्री, अप्ठारो परेका बेला आर्थिक सहयोग गरेको छ । यस्तै छात्रवृत्ति समेत उपलब्ध गराएर हामीलाई अध्ययनअघि बढाउन सहयोग पुर्याएको छ ।’
एसपीएमा स्नातक अध्ययनरत लक्ष्मी साउँद (बलर) सिनियर राष्ट्रिय टोलीको क्याम्पसम्म स्थान बनाउँन सफल भएकी छिन् । तीनवर्षअघि काठमाडौंमा आयोजना भएको वमेन्स क्रिकेट लिग (डब्लुसीएल) मा क्याट क्वीन्स काठमाडौं टोलीबाट उत्कृष्ट प्रदर्शन गरेपछि उनी यू–१९ राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण हुँदै उमेर समूहको राष्ट्रिय टोलीमा परेकी थिइन ।
सन् २०१९ मा चीनको सांघाईमा आयोजना हुने बी एण्ड आर यू–१९ महिला टी–ट्वान्टी प्रतियोगितामा नेपालको जर्सी लगाउँदै लक्ष्मी मैदान उत्रिएकी थिइन । लगत्तै उनी राष्ट्रिय टोलीको सिनियर क्याम्पमा परेपनि अन्तिम टोलीमा भने स्थान बनाउँन सकिनन् ।
‘कलेजले जे कुरामा जहिले सहयोग गरेको छ,’ एसपीए रोज्नुको कारण बताउँदै उनले भनिन्, ‘सुवास सर(शाही) तथा खेल शिक्षकले सदैव मोटिभेसन दिनुहुन्छ। प्लेयरहरुले छात्रवृत्ति अध्ययन गरिरहेकाले पनि धेरै सघाउ पुगेको छ ।’
लक्ष्मीसँगै नेपाली यू–१९ टोलीकी बलर अलराउण्डर इश्वरी विष्ट र ब्याटर यशोदा विष्ट पनि एसपीएमै अध्ययनरत् छन् । त्यसबाहेक सुमन विष्ट, मनिषा चौधरी र मनिषा उपाध्याय यू–१९ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पर्न सफल भएका छन् ।
एसपीए कलेज धनगढीमा अध्ययनरत अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी
सिनियर पुरुष : लोकेश बम
यू–१९ पुरुष : नारायण जोशी, बसन्त कार्की
सिनियर महिला : कविता कुँवर
यू–१९ महिला : लक्ष्मी साउद, ईश्वरी विष्ट, यशोदा विष्ट
यू–१९ क्याम्प : सुमन विष्ट, मनिषा चौधरी र मनिषा उपाध्याय