काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय सिरिजमा धेरै खेल जितेर फर्कने बताएका छन् ।
अमेरिकामा प्रस्थान गर्नु अघि नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको बिदाइमा बोल्दै सन्दीपले धेरै खेल जितेर फर्कने बताएका हुन् ।
'त्यहाँ गएर जसरि पनि राम्रो प्रदर्शन गरेर नेपाललाई जित दिलाउने र अन्य आउने खेलहरुमा धेरै भन्दा धेरै अंक ल्याएर अगाडी बाड्ने लक्ष्य छ । जसको लागि पानी पर्दा होस् या जस्तो भएपनि सबैजनाले कुनै न कुनै रुपमा व्यस्त राखिराख्नु भएको थियो,' सन्दीपले भने, 'मलाई विश्वास छ यो मेहेनतले उमङ्ग ल्याएर आउने छ र हामी धेरै भन्दा धेरै खेल जितेर फर्कने छौँ ।'
सिरिजमा नेपालले अमेरिका र ओमानसँग दुई दुई खेल खेल्नेछ ।
सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमानबीचको खेल जुन ९ मा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।
सन्दीपले सिरिजका लागि नेपाली टोली सन्तुलित रहेको समेत बताए ।
'हाम्रो टिम सन्तुलित छ हामी खेलका लागि तयार छौँ,' सन्दीपले भने ।
लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ ।
नेपालले अहिलेसम्म १२ खेल खेलेको छ । जसमा नेपालले ६ जित र ६ खेलमा हार व्यहोरेको छ ।
नेपालले सिरिज अघि दुई अभ्यास खेल खेल्नेछ ।