धनगढी । महेन्द्रनगर क्रिकेट एकेडेमीले क्लब स्तरीय टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढी सुपर लिगको उपाधि जितेको छ ।
धनगढीको लिटल फ्लावर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधि जितेको हो ।
उपाधिसँगै महेन्द्रनगरले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको लिटल फ्लावरले १ लाखमा चित्त बुझायो ।
कैलालीको धनगढी स्थित प्रदेश प्रहरीको खेल मैदानमा शनिबार टस जितेर ब्याटिङ थालेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।
१ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको लिटल फ्लावरले १८.३ ओभरमा १ सय १८ रन मात्रै बनाउन सक्यो । उसका लागि दीपक बोहराले सर्वाधिक ४१ रन बनाए । नरेन भट्टले १८, अभिषेक पालले टिमलाई १३ र सन्दीप खत्रीले १२ रनको योगदान दिए ।
बलिङ तर्फ महेन्द्रनगरका सन्तोष भट्टले महत्त्वपूर्ण ४ विकेट लिए । हेमन्त धामी र विपिन धामीले समान २÷२ तथा राहुल भण्डारी र विकास आग्रीले समान १/१ विकेट लिए ।
त्यस अघि महेन्द्रनगरका लागि विशाल ऐरले ३३ र सन्तोष भट्टले २१ रन बनाए । उसका राहुल भण्डारी, हेमन्त धामी र विकास आग्रीले समान १३/१३ रन बनाए । बलिङ तर्फ लिटल फ्लावरका कृष्ण कार्कीले ३, दीपक बोहरा र कुशल रुपाखेतीले २/२ तथा प्रकाश जैसी र सन्दीप खत्रीले समान १/१ विकेट लिए । फाइनल खेलको प्लेयर अफ दी म्याच सन्तोष भट्ट घोषित भए ।
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी लिटल फ्लावरका दीपक बोहरा घोषित भए । उनले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान धनगढी क्रीकेट एकेडेमीका राजु रिजाल, उत्कृष्ट बलर घोषित भएका धनगढी क्रीकेट एकेडेमीका हिक्मत महरा प्रतियोगिताका उदीयमान खेलाडी समेत बन्न सफल भए । उनीहरूले जनही ७ हजार ५ सय नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विजेताहरूलाई एक समारोहकाबिच सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका, होटेल डीभोटीका जनरल म्यानेजर हरिस भण्डारी, आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्स प्रा.लि. का अध्यक्ष रामचन्द्र शाहीलगायतले पुरस्कार वितरण गरेका थिए ।