काठमाडौं । नेपालका तीव्र गतिका बलर बिक्रम सोबले अमेरिका भ्रमण गुमाउने भएका छन् ।
नेपाली टोली आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिजका लागि आज अमेरिका प्रस्थान गर्दैछ ।
तर, चोटका कारण बिक्रम अमेरिका जाने टोलीमा परेका छैनन् ।
क्यानले बिक्रमको स्थानमा स्पिनर सुशन भारीलाई टोलीमा राखेको छ ।
क्यानका क्रिकेट म्यानेजर विनोद दासले ब्याक इन्जुरीको कारण बिक्रम अमेरिका नजाने बताए ।
'बिक्रमको ब्याक इन्जुरीले गर्दा टिममा नभएको हो । उनको स्थानमा सुशन भारीलाई बोलाएका छौँ,' दासले भने ।
क्यानले शनिबार सिरिजका लागि अमेरिकाको टेक्सस जाने नेपाली टोलीलाई बिदाइ गरेको थियो
सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।
सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमानबीचको खेल जुन ९ मा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।
लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ ।
नेपालले अहिलेसम्म १२ खेल खेलेको छ । जसमा नेपालले ६ जित र ६ खेलमा हार व्यहोरेको छ ।
नेपालले सिरिज अघि दुई अभ्यास खेल खेल्नेछ । क्यानले नेपाली टोलीले अमेरिकामा रहेका पूर्व खेलाडीहरुको क्लब नेपाली अल स्टार्स र ह्युस्टन हरिकेन्ससँग एकदिवसीय अभ्यास खेल खेल्ने जनाएको छ ।
नेपालले अल स्टार्ससँग जुन २ र हरिकेन्ससँग जुन ४ मा खेल्ने तालिका रहेको छ।
नेपाली टिम -
सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख,विनोद भण्डारी, सुनिल धमला, देव खनाल, आदील अन्सारी, करण केसी, सोमपाल कामी, सुशन भारी, किशोर महतो, सागर ढकाल