धनगढी । धनगढी सुपर लिगमा महेन्द्रनगर क्रिकेट क्लब र दाङको देउखुरी वारिसर्य क्रिकेट क्लब विजयी भएका छन्।
बिहीबार भएको पहिलो खेलमा महेन्द्रनगरले बुङगल क्रिकेट क्लब बझाङलाई ५ विकेटले पराजित गर्यो ।
प्रदेश प्रहरीको खेलमैदानमा टस जितेर ब्याटिङ थालेको बुङगलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।
१ सय २८ रनको विजयी लक्ष्य पछ्याएको महेन्द्रनगरले १५ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि राहुल भण्डारीले ४६ र सन्दीप जोराले अविजित ३७ रनको पारी खेले । बलिङतर्फ बुङगलका गोविन्द विष्टले २ विकेट लिए ।
त्यस अघि बुङगलका लागि किरण कुमार ठगुन्नाले ५० रनको अर्धसतकीय पारी खेलेपछि त्यो जितका लागि पर्याप्त हुन सकेन । उसका सन्दीप विष्टले ३२, आदित्य महताले २० रन बनाए । बलिङ तर्फ महेन्द्रनगरका सन्तोष भट्ट र सन्दीप जोराले समान ३र३ तथा हेमन्त धामीले २ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच सन्दीप जोरा चुनिए ।
दोस्रो खेलमा धनगढी क्रिकेट एकेडेमीमाथि दाङको देउखुरी वारियर्सले ९ विकेटको जित निकाल्यो ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको धनगढीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन मात्रै बनाउन सक्यो । १ सय १५ रनको विजयी लक्ष्य पछ्याएको देउखुरीले ११ ओभर ५ बलमा १ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका सुरुवाती ब्याट्सम्यान प्रज्वल थापा र विराट भण्डारीले ८७ रनको उत्कृष्ट साझेदारी गरे । १० औँ ओभरमा विराट भण्डारी २४ रन बानाएर बोल्ड आउट हुन पुगेका थिए । प्रज्वल थापाले भने ७ चौका र ६ छक्कासहित ७७ रनको अविजित सानदार पारी खेले ।
त्यस अघि धनगढीका लागि अरुण ऐरीले ३२, खगेन्द्र जोशीले २३ र भोजराज भट्टले २१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङ तर्फ देउखुरीका प्रतिश जिसीले ४ ओभर बलिङ गर्दै १४ रन खर्चिएर ३ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच प्रज्वल थापा भए ।
प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा शुक्रबार महेन्द्रनगर क्रिकेट एकेडेमी र देउखुरी वारियर्स प्रतिस्पर्धा गर्नेछन् । उक्त खेलको विजेताले लिटल फ्लावरसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लिटल फ्लावर यस अघि नै ५ मध्य ३ खेलमा जित निकाल्दै ७ अङकसहित फाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।