काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार एक विज्ञप्ति जारी गर्यो । फ्रेन्चाईज क्रिकेट एभरेष्ट प्रिमियर लिग (इपीएल) लाई लक्षित गर्दै क्यानका कार्यबाहक सचिव प्रशान्तबिक्रम मल्लले प्रेस विज्ञप्ति जारी गरेका थिए । क्यानको प्रेस विज्ञप्ति इपीएलको सोमबारको विज्ञप्ति लक्षित थियो ।
सोमबार ईपीएलले पत्रकार सम्मेलन गरेर एक विज्ञप्ति जारी गर्यो । इपीएलको आयोजना रोक्ने क्यानको तयारीप्रति असन्तुष्टि जनाउँदै फ्रेन्चाईजका मालिक सहित इपीएलको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनको सार इपीएलको निरन्तरताको माग गरिएको थियो । र इपीएल आयोजना बन्द गरिए क्यानका सम्पूर्ण कार्यक्रम बहिष्कार गर्ने र कुनै प्रायोजन नगर्ने फ्रेन्चाईज टिमको चेतावनी थियो । चेतावनी सहितको विज्ञप्तिप्रति क्यानले मंगलबार प्रेस रिलिज जारी गर्दै खेद ब्यक्त गरेको छ । र गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।


यो सम्पूर्ण विवादको थालनी क्यानले आफ्नै फ्रेन्चाईज क्रिकेट नेपाल टी–ट्वान्टी लिग आयोजना गर्ने घोषणापछि सुरु भएको हो । क्यानले भारतीय सेभेन थ्री स्पोर्ट्स कम्पनीलाई फ्रेन्चाईज प्रतियोगिताको कमर्सियल र रणनीतिक साझेदारको रुपमा भित्राएको छ । यसवापत वार्षिक करिब चार करोड रुपैयाँ क्यानले प्राप्त गर्नेछ । नेपाल टी–ट्वान्टी लिगको आधिकारिक घोषणासँगै इपीएलको निरन्तरतामाथि प्रश्न उठेका थिए । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रस्ट रुपमा देशमा एउटामात्र फ्रेन्चाईज क्रिकेट लिग हुने बताउँदै क्यानले आयोजना गर्ने नेपाल टी–ट्वान्टी लिगनै एकमात्र आधिकारिक प्रतियोगिता हुने बताएका थिए । उनले इपीएल लगायत अन्य कुनै पनि फ्रेन्चाईज प्रतियोगितालाई मान्यता नदिने प्रस्ट पारेका छन् ।
‘इपीएलले आयोजनाको २० लाख रुपैयाँ क्यानलाई दिने गर्छ । सेभेन थ्री स्र्पोट्सले करिब चार करोड रुपैयाँ दिने सम्झौता भएको छ । एकै प्रकृतिका दुई प्रतियोगितामा कसैले २० लाख र कसैलाई चार करोड दिने भन्ने हुदैन । अब एउटामात्र फ्रेन्चाईज प्रतियोगिताको रुपमा नेपाल टी–ट्वान्टी लिग हुनेछ ।’ चन्दले भनेका छन् ।

क्रिकेट संघ अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को प्रतिबन्धमा रहेका बेला इपीएलको सुरुवात भएको हो । क्रिकेट गतिविधि शुन्य भएपछि इपीएललाई अघि बढाउन आयोजक सहित खेलाडी, कर्पोरेट हाउस र स्वयम आईसीसी समेत सहमत बन्यो । क्यान नभएको अवस्थामा आईसीसीबाट मान्यता लिएर इपीएलले उडान भरेको थियो । हेर्दा हेर्दै इपीएल नेपालको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिता बन्यो । विश्व क्रिकेटका ठुला क्रिकेट हस्तिलाई समावेश गर्दै यसले अन्य फ्रेन्चाईज क्रिकेटमात्र हैन, नेपाली खेलकुदलाईनै चक्मा दिने काम गर्यो । इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)को नेपाली मोडलले सफलताको शिखर चढ्दै थियो । तर क्यानको पुर्नस्थापनासँगै क्रिकेटको शक्ति सन्तुलनमा फेरबदर आउन लाग्यो । क्रिकेट खेल मात्र रहेन, यो पैसा पनि हो । क्यानले केही वर्ष इपीएलको तमासा हेर्यो, पैसा देख्यो । र अन्तराष्ट्रिय साझेदार भित्र्याउँदै आफै आधिकारिक फ्रेन्चाईज प्रतियोगिताको घोषणा गरेको छ ।
क्यान आएको सुरुवाती वर्ष इपीएलका मालिक आमिर अख्तरनै सर्वोसर्वा जस्ता देखिन्थे । ठुला ठुला क्रिकेट सिरिज उनकै अग्रसरतामा सम्पन्न भएका थिए । राष्ट्रिय क्रिकेट टिमको प्रायोजकदेखि क्रिकेटका व्यवसायीक सम्झौतामा उनै आमिर मुख्य भुमिकामा देखिन्थे । समय उही रहेन । क्यानसँग आमिरकै सम्बन्धमा पनि बिग्रदै गयो । आमिरको हालीमुहाली रहने अन्तराष्ट्रिय क्रिकेट सिरिजमा अर्को कम्पनी सन्बी होल्डिङ्सले चुनौती दिन थालेको छ । बिस्तारै फ्रेन्चाईज क्रिकेटका लागि अर्को भारतीय कम्पनीले क्यानलाई प्रभावमा पार्न सफल बन्यो । भारतीय कम्पनीको आकर्षक प्रस्तावसँगै क्यानलाई आमिरको विकल्प तयार भयो । क्यानले आमिरलाई बाहिर राख्दै फ्रेन्चाईज क्रिकेटका लागि सेभेन थ्री स्पोर्टससँग ८ वर्षको दिर्घकालिन सम्झौता गरेको छ ।

सेभेन थ्री स्पोर्टससँगको सम्झौतामा क्यानले एउटा गल्ती गर्यो । साना–साना क्रिकेट सिरिजको कमर्सियल अधिकार खुल्ला सुचना निकालेर बिक्री गर्ने क्यानले करिब ३२ करोड रुपैयाँको सम्झौतालाई गुपचुपमै सम्पन्न गर्यो । नेपाल टी–ट्वान्टी लिगको घोषणा सभामा कार्यवहाक सचिव प्रशान्त बिक्रम मल्लले यसलाई क्यानको सर्वाधिकारको रुपमा ब्याख्या गरेका थिए । क्यानको साधारण सभासँग यसको निर्णय गर्ने अधिकार रहेको कुतर्क पनि गरे । अझ पत्रकारमाझ कुनैपनि देशको क्रिकेट संघसँग बिना टेण्डर सम्झौता गर्ने अधिकार रहेको दलिल पेश गरेका थिए । खेलकुद मन्त्रीलाई मुख्य अतिथी बनाएर ठुलो अपारदर्शी घटनामा पानीमाथि ओभानो बन्न क्यान सफल भएको छ । तर क्यानको कार्यसमिति, यसको साधारण सभा भन्दा देशको नियम, कानुन र संविधानमाथि हुन्छ भन्ने हेक्का क्रिकेटका पदाधिकारीले एक दिन बुझ्नेनै छन् ।
यही विषयलाई मुद्धा बनाएर आमिरले क्यानविरुद्ध लडाँई छेडेका छन् । त्यसैलेको कदम स्वरुप सोमबार देशका ६ फ्रेन्चाईज टिमका मालिकलाई बोलाएर प्रेस विज्ञप्ति जारी गरे । क्यानको कुनै पनि कार्यक्रममा प्रायोजन नगर्ने सम्मको धम्की दिन लगाए । त्यसैले प्रतिउत्तरमा मंगलबार क्यानले विज्ञप्ति जारी गर्दै खेद प्रकट गरेको छ । हेर्दा, लडाँई क्यान भर्सेस आमिर जस्तो देखिएको छ ।

तर क्यानले बिर्सन नहुने कुरा,
क्यान प्रतिबन्धमा रहदाँ, देशमा क्रिकेटका गतिविधि शुन्य प्राय रहेका बेला इपीएलले खेलाडी बचाउन गरेको योगदानलाई बिर्सन हुँदैन । इपीएल आमिर मात्र हैन, यसमा देशमा ठुला ६ कर्पोरेट क्षेत्रले लगानी गरेका छन् । सयौं ब्राण्डले पैसा बगाएका छन् । क्रिकेटको सर्वोच्च संस्थाले छलफल र संवादमार्फत इपीएलमा देखिएको विवादको टुङ्गो लगाउनुपर्छ । पैसा लगाउने ब्यापारीको चित्त बुझाउन पर्छ । कर्पोरेट क्षेत्रका लगानी र संलग्नताबिना कुनैपनि खेलको विकास र विस्तार सम्भव छैन । इपीएलको विकल्प नेपाल टी–ट्वान्टी लिग हुन सक्छ । तर खेलकुदमा इमान्दार भएर पैसा लगानी गर्ने लगानीकर्ताको विकल्प पक्कैपनि भेटिदैन । यसले क्रिकेटको हित गर्दैन, खेलकुदको हित गर्दैन ।