धनगढी । कैलालीको धनगढीमा जारी टी-२० क्लब क्रिकेट प्रतियोगिता धनगढी सुपर लिग अन्तर्गत मंगलबार दाङको देउखुरी वारियर्स क्रिकेट क्लब र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन् ।
पहिलो खेलमा दाङको देउखुरीले बझाङको बुङगल क्रिकेट क्लबलाई १८ रनले पराजित गर्यो ।
धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको देउखुरीले निर्धारित १२ ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो ।
१ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको बुङगलले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय १९ रन मात्रै बनाउन सक्यो । उसका लोकेन्द्र चन्दले ३५ र प्रकाश पाण्डेयले ३४ रन बनाए । बलिङतर्फ देउखुरीका दिनेश अधिकारीले ३ र नारायण जोशीले २ विकेट लिए ।
त्यस अघि देउखुरीका लागि प्रज्वल थापाले ३४, सुमित श्रेष्ठले अविजित २३, नारायण जोशीले २३ र विराट भण्डारीले २१ रन बनाए । बलिङ तर्फ बुङगलका मिलन बोहरा र अशोक धामीले समान २÷२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच दिनेश चुनिए ।
दोस्रो खेलमा कैलालीले धनगढी क्रिकेट एकेडेमीलाई १६ रनले पराजित गर्यो ।
टस जितेर ब्याटिङ थालेको कैलाली जिल्ला क्रिकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो ।
१ सय ३४ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको धनगढी क्रिकेट एकेडेमीले १८.१ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय १७ रन मात्रै बनाउन सक्यो । उसका कप्तान राजु रिजालले ३३ बलमा ४ छक्का र ३ चौकासहित ५१ रन बनाए । सुवास ऐरले २९ र खगेन्द्र जोशीले १४ रन बनाए । बलिङतर्फ कैलाली जिल्ला क्रिकेट क्लबका वीरेन्द्र नाथले ३, कप्तान शेर मल्ल, श्याम सुन्दर साउद र नरेन साउँदले समान २÷२ विकेट लिए ।
त्यस अघि कैलाली जिल्ला क्रीकेट क्लबका लागि अर्जुन साउदले अविजित ३३, राजन सिंहले २७, दिनेश ओडले १९ र वीरेन्द्र नाथले १४ रन बनाए । बलिङ तर्फ डीसीएका भोजराज भट्ट, हिकमत महरा र अरुण ऐरीले समान २÷२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच वीरेन्द्र नाथ चुनिए ।
लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. धनगढीको आयोजनामा जारी प्रतियोगिता जेठ १४ गतेसम्म सञ्चालन हुने अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।