काठमाडौं । फ्रेन्चाईज क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (इपीएल)का टिम मालिकहरुले क्यानको पछिल्लो कदमलाई लिएर असन्तुष्टि ब्यक्त गरेका छन् । एउटै फ्रेन्चाईज प्रतियोगिता नेपाल टी–ट्वान्टी लिग आयोजना गर्ने क्यानको निर्णयले यसअघि फ्रेन्चाईज क्रिकेटमा लगानी गरिरहेका कर्पोरेट क्षेत्रका लगानीकर्ताले असन्तुष्टि जनाएका हुन् ।
आफुहरुले फ्रेन्चाईज क्रिकेटमा ठुलो लगानी गरिसकेको बताउँदै कर्पोरेट क्षेत्रका लगानीकर्ताले प्रतियोगिताको निरन्तरताको माग गरेका हुन् । क्यानले देशमा चलिरहेका अन्य फ्रेन्चाईज प्रतियोगिताको दायरालाई साँघुरो पार्दै एकमात्र फ्रेन्चाईज प्रतियोगिताको रुपमा नेपाल टी–ट्वान्टी लिगलाई अघि बढाउने घोषणा गरेको छ ।
क्यानको पछिल्लो कदमबाट यसअघि हुँदै आएको फ्रेन्चाईज क्रिकेट ईपीएलको भविष्य संकटमा देखिएको छ । जसमा कर्पोरेट क्षेत्रले लगानी गरेको करोडौं रुपमा समेत जोखिममा परेको छ ।
ईपीएल टिम ललितपुर पेट्रीयटसका मालिक किशोर महर्जनले क्यानको पछिल्लो निर्णयले आफुलाई पीडा भएको बताएका छन् । उनले पैसा कमाउने उद्धेश्यले क्रिकेटमा लगानी नगरेको उल्लेख गर्दै क्यानको निर्णयले आफुहरुलाई स्तब्ध बनाएको बताए ।
‘अब हाम्रो लगानी र पैसा के हुन्छ । सय भन्दा बढी कर्पोरेट हाउसको सहकार्यलाई अब के गर्ने ?’ ललितपुरका मालिक महर्जनले प्रश्न गरेका छन् ।
काठमाडौं किग्सका मालिक सञ्जय अग्रवालले क्यानले अन्तिम समयमा आएर आफुहरुलाई अन्याय गरेको बताए । क्रिकेटलाई व्यवसायीक बनाउने अभियानमा क्यानले बाधा गरेको बताउँदै उनले ईपीएललाई क्रिकेटसँग मात्र नजोडेर समग्र खेलकुदसँग जोड्नुपर्ने धारणा राखे ।
चितवन टाइगर्सका मालिक किशोर भट्टराईले ईपीएललाई मात्र नभएर समग्र खेलकुदलाई न्याय गर्ने बेला आएको बताए । उनले अहिलेसम्म कर्पोरेट क्षेत्रले गरेको लगानीको अर्थ के हुने भनेर प्रश्न गरे ।
‘हामीसँग सल्लाह नगरि क्यानले एकलौटी निर्णय गर्यो । यसले भोलि आउने अन्य लिगलाई पनि गाह्रो हुन्छ । भोलिका दिनमा ब्यवसायीक घरानाहरुले कसरी लगानी गर्ने ?’ भट्टराईले भने, ‘इपीएललाई लगातार अघि बढाउनुपर्छ भन्ने हाम्रो माग हो ।’
पोखराका दिपा अग्रवालले इपीएलले निरन्तरता पाउनुपर्ने धारणा राखिन । क्यान नभएको अवस्थामा आईसीसीसँग समन्व्य गरेर आफुहरु अघि बढेको उल्लेख गर्दै उनले क्यानले नकारात्मक कुरा गर्न आवश्यकता नभएको बताए ।
भैरहवाका मालिक सकेट सांघाईले आफुहरुसँग सल्लाह नगरि क्यानले गरेको निर्णयले आश्चर्यचकित पारेको बताए ।
इपीएलका सञ्चालक आमिर अख्तरले आफुहरुलाई पनि काम गर्न ठाउँ चाहिएको धारणा राखे ।
‘क्यान आईसीसीको प्रतिबन्धमा भएका बेला हामीले सहजीकरण नगरेर ईपीएल नगरेको भए नेपाली क्रिकेट, खेलाडी कहाँ हुन्थ्यो ? कुनै नयाँ विदेश कम्पनीलाई विश्वास गर्दा, नेपालको क्रिकेट विकासका लागि लागेको कम्पनीलाई किन हेला ?’ उनले भने ।
अख्तरले छलफलबाटै अहिले देखिएको समस्या समाधान हुनेमा आफुहरु आशावादी रहेको बताए । उनले आफुहरु पिडा र अन्यायमा परेको बताउँदै ईपीएलसँग जोडिएको कम्पनीले क्यानको लिगमा प्रायोजन नगर्ने समेत चेतावनी दिएका छन् ।