धनगढी । कैलालीको धनगढीमा जारी टी-ट्वान्टी क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ अन्तर्गत आइतबार धनगढी क्रिकेट एकेडेमी र महेन्द्रनगर क्रिकेट क्लब विजयी भएका छन् ।
धनगढीस्थित सङ्घीय प्रहरीको खेल मैदानमा भएको पहिलो खेलमा धनगढीले बुङगल क्रिकेट क्लब बझाङलाई ८० रनले पराजित गर्यो । महेन्द्रनगरले दोस्रो खेलमा लिटल फ्लावर क्रिकेट क्लबलाई १ सय १६ रनले पराजित गर्यो ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको धनगढी क्रीकेट एकेडेमी (डीसीए) ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको बुङगलले १६.२ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८५ रन मात्रै बनाउन सक्यो । उसका लागि किरण कुमार ठगुन्ना र सन्दीप विष्टले १८÷१८ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहन सकेन । डीसीएको बलिङ तर्फ हिक्मत महराले ४ ओभर बलिङ गर्दै १ मेडनसहित १० रन खर्चिएर महत्त्वपूर्ण ४ विकेट लिए । त्यस्तै सुवास ऐर र अरुण ऐरीले २÷२ विकेट लिए ।
त्यस अघि डीसीएका लागि राजु रिजालले ४१ बलमा ५४ रनको अर्धसतकीय पारी खेले । उसका भोजराज भट्टले ३२ रन बनाए । बलिङ तर्फ बुङगलका लोकेन्द्र चन्द र अशोक धामीले २÷२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच हिक्मत चुनिए ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको लिटल फ्लावर ८.२ ओभरमा अलआउट हुन पुग्यो ।
महेन्द्रनगरका विकास आग्रीले घातक बलिङ गरेपछि लिटल फ्लावर ३७ रनमै अलआउट भएको हो । उसका नरेन भट्टले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक बनेन । बलिङ तर्फ महेन्द्रनगरका विकास आग्रीले २.५ ओभर बलिङ गर्दै १५ रन खर्चिएर महत्त्वपूर्ण ५ विकेट लिए । उसका हेमन्त धामी र विपिन धामीले २÷२ विकेट लिए ।
त्यस अघि महेन्द्रनगरका लागि रोशन साउदले टिमलाई ५० रनको अर्धसतकीय योगदान दिए । अनुराग सिंहले ३१ रन बनाए । बलिङ तर्फ लिटल फ्लावरका प्रकाश जैशीले ३ र सन्दीप खत्री र कृष्ण कार्कीले २÷२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच विकास चुनिए ।
लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. धनगढीको आयोजनामा प्रतियोगिता जेठ १४ गतेसम्म सञ्चालन हुने अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद २ लाख उपविजेताले १ लाख तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।