काठमाडौं । ज्योत्निस्का मरासिनीसहित पाँच महिला खेलाडीले आईसीसी यू-१९ महिला विश्वकप छनोट गुमाउने भएका छन् ।
प्रतियोगिताका लागि उमेर नपुगेका पाँच खेलाडीले मलेसियामा आयोजना हुने छनोट खेल गुमाउने भएका हुन् ।
ज्योत्निस्कासँगै मनिषा चौधरी, सावित्री धामी, प्रतिमा शाह र टिका शाहले छनोट गुमाउने भएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले खेलाडी १५ वर्ष नपुगेको कारण आईसीसीले खेल्न अनुमति नदिएको बताए ।
'उहाहरु १५ वर्ष नपुगेको कारण खेल्न नपाउने भएका हुन् । पहिले राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडीले १४ वर्ष ८ महिना पुगेकाले खेल्न पाउने गर्थ्यो । यस पटक कोभिडको कारण देखाएर आईसीसीले अनुमति दिएन,' दासले भने।
विश्वकप छनोटका लागि क्यानले घोषणा गरेको १८ सदस्सीय टोलीमा उनीहरु थिए ।
छनोटमा नेपाल, मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन् ।
छनोट आगामी जुन ४ बाट सुरु हुनेछ ।