काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएको छ।
मुम्बईमा शनिबार राति भएको खेलमा मुम्बईले दिल्लीलाई ५ विकेटले हराएको हो।
मुम्बईसँग पराजित भएपछि दिल्ली प्ले अफमा पुग्न असफल भएको छ । दिल्लीले हारले रोयल च्यालेन्जर्स बैंगलोर प्ले अफमा पुगेको छ ।
अब पहिलो क्वालिफायरमा गुजरात टाइटन्स र राजस्थान रोयल्सबिच प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरमा लखनउ सुपर जाइन्ट्स र बैंगलोरले प्रतिस्पर्धा गर्नेछन् ।

दिल्लीले दिएको १ सय ६० रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
मुम्बईका इशान किशनले ४८ रन जोड्दा डेवाल्ड ब्रेभिसले ३७ रन जोडे । टिम डाभिडले ३४ रन बनाए ।
दिल्लीका सार्दुल ठाकुर र एन्रिच नोर्कियाले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन जोडेको थियो ।
दिल्लीका लागि रोभमान पावेलले ४३ रन जोडे । ऋषव पन्तले ३९ रन जोड्दा पृथ्वी शले २४ रन बनाए ।

मुम्बईका जस्प्रित बुम्राहले ३ तथा रमनदीप सिंहले २ विकेट लिए ।
यस जितसँगै मुम्बईले सिजनको सुखद अन्त्य गरेको छ ।
मुम्बई यस सिजन १४ खेलमा ८ अंक जोडेर पुछारमा रह्यो ।
दिल्ली १४ खेलमा १४ अंक जोडेर पाँचौं स्थानमा रह्यो ।