काठमाडौं । युगान्डाविरुद्धको पाँचौ तथा अन्तिम टी–ट्वान्टी क्रिकेटमा नेपाल विजयी बनेको छ ।
शनिबार त्रिवि मैदानमा नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले सिरिजको अन्तिम खेलमा पाहुना टोली युगान्डालाई ३३ रनले पराजित गर्यो ।
पाँच खेलको टी–ट्वान्टी सिरिजमा युगान्डा ३–२ ले विजयी बनेको छ । घरेलु टोली नेपालले जित सहित सिरिजको अन्त्य गरेको छ ।
त्रिवि मैदानमा १ सय २४ रनको लक्ष्य पछ्याएको युगान्डाले ६ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । नेपालको कसिलो बलिङ समक्ष युगान्डाको ब्याटिङ चल्न सकेन ।

युगान्डाका लागि रिता मुसामालीले सर्वाधिक २६ रन बनाईन् । ओपनर केभिन अविनोले १५, फियानो कुलुमे ८, जेनेट बाबाजिले १०, लियोना बाबिरियले २ र सुसान काकाईले ७ रन बनाए । सकिरा सादिक ७ र कान्सी अवेको १३ रनमा नटआउट रहे ।
नेपालकी इन्दु वर्मा र सिता राना मगरले समान दुई-दुई विकेट लिए । आस्मिना कर्मचार्य र हिरामाइ रोयले समान एक एक विकेट हात पारे ।
यसअघि, युगान्डाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभमार ६ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो ।
नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाईन् । सिताराना मगरले १७ रन बनाएको इनिङ्समा इन्दु वर्माले ८ रन बनाईन् । कबिता जोशीले नटआउट १८ रन बनाउदा अपसरी बेगम ११ रनमा आउट भईन् । रुबिना क्षेत्री र डोली भट्ट दुवै शुन्य रनमा पोविलियन फर्किए ।
युगान्डाका कान्सी अवेकोस र फियोना कुलुमेले समान एक एक विकेट लिए ।
पाहुना टोली युगान्डाले लगातार तीन खेलमा जित निकाल्दै दुई खेल अगावै सिरिज जितिसकेको थियो । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय महिला क्रिकेट टिमका लागि सिरिजको आयोजना गरेको थियो ।
नेपालले युगान्डाविरुद्धको पहिलो खेलमा १२ रनले गुमाएको थियो भने दोस्रो खेलमा एक विकेटको पराजय भोगेको थियो ।
तेस्रो खेलमा नेपालले ६ विकेटको हार ब्यहोरेको थियो भने चौथो खेलमा युगान्डालाई १५ रनले हराएको थियो ।
