काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज शनिबार पाँचौं तथा अन्तिम टी-ट्वान्टी अन्तराष्ट्रियमा पाहुना टोली युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र युगान्डाबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
नेपाल र युगान्डाका लागि अन्तिम खेल प्रतिष्ठाको लडाईको रुपमा रहेको छ । किनकि सिरिज युगान्डाले यस अघि नै आफ्नो बनाईसकेको छ ।
तर, दुबै टोली अन्तिम खेलमा जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्ने योजनामा रहेका छन् । पाँच खेलको सिरिजमा युगान्डा ३-१ ले अघि रहेको छ ।
नेपाल आज युगान्डालाई हराएर सिरिज ३-२ को स्थितिमा सकाउन चाहन्छ । युगान्डाले सुरुआती तीन खेलमा लगातार नेपाललाई हराएको थियो ।
नेपालले चौंथो खेलमा भने युगान्डालाई १५ रनले हराएको थियो । र, सिरिजमा पहिलो जित निकालेको थियो ।
पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले पहिलो खेलमा १२ रनको, दोस्रो खेलमा १ विकेटको र तेस्रो खेलमा ६ विकेटको हार व्यहोरेको थियो ।
युगान्डा भने नेपाललाई अन्तिम खेलमा हराएर जितसहित सिरिजको ट्रफी उचाल्न चाहन्छ ।