काठमाडौं । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।
मुम्बईमा शुक्रबार राति चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदै राजस्थान प्ले अफमा पुगेको हो ।
राजस्थान सन् २०१८ पछि पहिलो पटक प्ले अफमा पुगेको हो ।
चेन्नईले दिएको १ सय ५१ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

राजस्थानको जितमा यासभी जैसवालले ५९ रनको अर्धशतकीय इनिङ खेले ।
रविचन्द्र आश्विनले अविजित ४० रन जोडे । कप्तान सन्जु सामसन १५ रनमा आउट भए ।
चेन्नईका प्रशान्त सोलान्कीले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५० रन जोडेको थियो ।
चेन्नईका मोइन अलिले ९३ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै कप्तान महेन्द्र सिंह धोनीले २६ तथा डेभोन कोन्वेले १६ रन जोडे ।
राजस्थानका युजभेन्द्र चाहल र ओबेड म्याककोएले २/२ विकेट लिए ।

यस जितसँगै राजस्थानले १४ खेलमा १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।
राजस्थानले शीर्ष दुई समेत पक्का गरेको छ । अब राजस्थानले पहिलो क्वालिफायर खेल खेल्नेछ ।
चेन्नई १४ खेलमा ८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
चेन्नई यस अघि नै प्ले अफ होडबाट बाहिरिसकेको छ ।