धनगढी । राष्ट्रिय टी–२० क्लब क्रिकेट प्रतियोगिता धनगढी सुपर लिगमा आयोजक लिटल फ्लावर क्रिकेट क्लब र बझाङको बुङगल क्रिकेट क्लबले विजयी सुरुआत गरेका छन् ।
धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा शुक्रबार लिटल फ्लावरले धनगढी क्रिकेट एकेडेमी र बुङगलले कैलाली जिल्ला क्रिकेट क्लबलाई पराजित गर्दै सुखद सुरुआत गरेका हुन् ।
लिटल फ्लावरले धनगढी क्रिकेट एकेडेमीलाई २२ रनले पराजित गर्यो । टस हारेर ब्याटिङको निम्तो पाएको लिटल फ्लावरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनायो ।
१ सय ८० रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन मात्रै बनाउन सक्यो । उसका राजु रिजालले ४८ बलमा ९ चौका र ३ छक्का सहित ७७ रनको उत्कृष्ट पारी खेले पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । रिजाल बाहेक टिमका अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो बन्न नसक्दा डीसीएले हार बेहोरेको हो । बलिङतर्फ लिटल फ्लावरका कुशल रुपाखेती र अनुप कुँवरले ३÷३ तथा कृष्ण कार्कीले २ विकेट लिए ।
त्यस अघि टस हारेर ब्याटिङ थालेको लिटल फ्लावरका नरेन भट्टले ४० बलमा ८ चौका र २ छक्काको मद्दतले ६३ रनको सानदार पारी खेले । लिटल फ्लावरका लागि अभिषेक पालले २८ बलमा ४४ रन बनाए । बलिङ तर्फ डीसीएका अभिष कोइराला, हिक्मत बोहरा र अरुण ऐरीले समान २÷२ तथा भोजराज भट्टले १ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच लिटल फ्लावरका नरेन चुनिए । उनले नगद २ हजार ५ सयसहित ट्रफी र मेडल प्राप्त गरे ।
दोस्रो खेलमा बुङगलले कैलाली जिल्ला क्रिकेट क्लबलाई ८० रनले पराजित गर्दै सानदार सुरुआत गरेको छ ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको बुङगलले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय रनको विशाल योगफल तयार पार्यो ।
२ सय १ रनको विशाल विजयी लक्ष्य पछ्याएको कैलाली जिल्ला क्रिकेट क्लब १५.४ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय २० रनमै समेटियो । उसका लागि दीपक टमाटाले ३५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक बन्न सकेन ।
बलिङतर्फ बुङगलका आकाश चन्दले ४, लोकेन्द्र चन्द, आदित्य महता र मिलन बोहराले समान २÷२ विकेट लिए ।
त्यस अघि बुङगललाई विशाल योगफल तर्फ अघि बढाउन किरण कुमार ठगुन्नाले २२ बलमा ५८ र प्रकाश पाण्डेले ३६ बलमा ५२ रनको सम्झन लायक पारी खेले । उसका सन्दीप विष्टले ३६ र लोकेन्द्र चन्दले २० रन बनाए ।
बलिङतर्फ कैलाली जिल्ला क्रीकेट क्लबका बलरहरू महँगा साबित भए । खेलको प्लेयर अफ दी म्याच ६ छक्का र ३ चौकाको मद्दतले ५८ रनको सानदार परी खेलेका किरण चुनिए । उनले नगद २ हजार ५ सयसहित ट्रफी र मेडल प्राप्त गरे ।
लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. धनगढीको आयोजनामा प्रतियोगिता जेठ १४ गतेसम्म सञ्चालन हुने अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद २ लाख उपविजेताले १ लाख तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।