काठमाडौं । नेपालले पाहुना टोली युगान्डाविरुद्धको महिला टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा पहिलो जित निकालेको छ।
टियु क्रिकेट मैदानमा शुक्रबार भएको चौंथो खेलमा युगान्डालाई १५ रनले हराउँदै नेपालले पहिलो जित निकालेको हो ।
नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित १८ ओभरमा ८ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो ।
युगान्डाका लागि जनेट बाबाजीले सर्वाधिक २१ रन जोडिन् । रिता न्यान्गेन्डो र इभ्लिन एनिपोले समान १६/१६ रन जोडिन् । केभिन विनोले ११ रन बनाईन् ।

नेपालकी हिरन्मायी रोयले दुई विकेट लिईन् । रोयले डेब्यु खेलमै विकेट लिएकी हुन् ।
यस्तै अश्मिना कर्माचार्य र रुबिना क्षेत्रीले एक एक विकेट लिईन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १७ ओभर ५ बलमा अलआउट हुँदै ९७ रन बनाएको थियो ।
मैदान ओसिलो भएको कारण ढिला सुरु भएपछि खेल १८ ओभरमा घटाईएको थियो । तर, नेपालले पुरै ओभर खेल्न सकेन ।
नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक १७ रन जोड्दा बिन्दु रावलले १६ रन बनाईन् ।
यस्तै सिता राना मगर ११ रनमा आउट भईन भने डोली भट्टले ६ रन जोडिन् ।
अस्परी बेगम ४ तथा कप्तान रुबिना क्षेत्री र इन्दु वर्मा समान १/१ रनमा आउट भईन् ।
अश्मिना कर्माचार्य ६ तथा डेब्यु खेलाडी हिरन्मयी रोय सुन्य रनमा आउट भईन् ।
कविता कुँवर ६ रन अविजित रहिन् ।

युगान्डाकी कोन्सी अवेकोले ३ विकेट हात पारिन् । सराह एकिटेङले २ विकेट लिईन् ।
यस जितसँगै नेपालले सिरिज क्लिन स्विप हुनबाट जोगाएको छ । तर, पाँच खेलको सिरिजमा नेपाल ३-१ ले पछि रहेको छ । युगान्डाले सिरिज यस अघि नै जितिसकेको छ ।
पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग शनिबार अन्तिम टी-ट्वान्टी खेल्न खेल्नेछ ।