काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमकी उपकप्तान रुबिना क्षेत्रीले युगान्डाविरुद्धको खेल व्यहोरेको हारको जिम्मेवारी सबै खेलाडीले लिनुपर्ने बताएकी छिन् ।
टियु क्रिकेट मैदानमा बिहीबार पाँच खेलको टी-ट्वान्टी सिरिज दुई खेल अगाबै ३-० ले गुमाएपछि रुबिनाले हारमा सबै खेलाडी दोषी भएको बताएकी हुन् ।
'यो सबैको दोष हामीले लिनुपर्छ । यस्तो विशेष दिन, विशेष ठाउ, आफ्नो घरेलु मैदानमा हामीले खेल देखाउन नसक्नु हाम्रो कमजोरी हो,' कप्तान रुबिनाले भनिन्, 'क्रिकेट एसोसियसन र कोचिङ टिमबाट जति गर्नु पर्ने त्यो भएको हो तर, हारिसकेपछि हामी नै दोषी हुन्छ ।'
बिहीबार भएको तेस्रो टी-ट्वान्टीमा नेपाललाई ६ विकेटले हराउँदै युगान्डाले दुई खेल अगाबै सिरिज जितेको थियो । जितसँगै युगान्डाले ५ खेलको सिरिजमा ३-० को अग्रता बनाएको छ ।
'हामीले नै जिम्मेवारी लिनुपर्छ । टिमको नेतृत्वकर्ता भएकोले यो हारको जिम्मेवारी मैले लिनुपर्छ । संगसंगै सबै खेलाडीले जिम्मेवारी लिनुपर्छ । मैले राम्रो खेल्न नसकेर नेपाल हारेको भनेर जबसम्म खेलाडीले जिम्मेवारी लिन सक्दैन तबसम्म यस्तो हुन्छ,' रुबिनाले थपिन् ।
कप्तान रुबिनाले अहिलेको ट्रेनिङले नेपाली महिला क्रिकेट माथि जान नसक्ने बताईन् । क्रिकेट धेरै माथि गईसकेको कारण फरक तरिकाले प्रशिक्षण गर्नुपर्ने उनको भनाई छ ।