एजेन्सी । भारतको सर्वोच्च अदालतले पूर्व क्रिकेटर तथा कांग्रेस नेता जवजोत सिंह सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएको छ ।
अदालतले सन् १९९८ को ‘रोडरेज’ घटनामा पुर्नविचार गर्दै एक वर्षको जेल सजायको फैसला सुनाएको हो । यसअघि अदालतले सन् २०१८ मे १५ मा सिद्धुलाई एक हजार रुपैयाँको सजाय सुनाएको थियो ।
सन् १९९८ मा सिद्धुले पटियालाको एक बजारमा पार्किङको विषयमालाई लिएर ६५ वर्षका गुरनाम सिंहमाथि कुटपिट गरेका थिए । त्यसपछि गुरनामलाई अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भएको थियो । रिपोर्टका अनुसार ह्दयघातका कारण उनको मृत्यु भएको थियो । तर यस घटनामा सिद्धुमाथि हत्याको आरोप लगाउँदै मुद्धा दायर भएको थियो ।
सन् १९९९ मा अदालतले मुद्धाको खारेज गरेको थियो । तर सन् २००२ मा पञ्जाब सरकारले सिद्धुविरुद्ध उच्च अदालतमा अपिल गरेको थियो । सन् २००६ को डिसेम्बरमा उच्च अदालतले सिद्धुलाई दोषी ठहर गर्दै तीन वर्षको सजाय सुनाएको थियो । जसमा एक लाख जरिवाना गरिएको थियो ।
उच्च अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो । सर्वोच्च अदालतले उच्च अदालतको आदेशमा रोक लगाएको थियो । सर्वोच्च अदालतले सिद्धु सहित सबै आरोपितलाई रिहा गरेको थियो ।
यसमा सिद्धुलाई एक हजार रुपैयाँको जरिवाना गरिएको थियो । यस फैसलामा पुनर्विचारका लागि पुन रिट दायर भएको थियो । यसमा सर्वोच्च अदालतले सिद्धुलाई एक वर्षको सजाय सुनाएको हो ।