काठमाडौं । नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगमा 'ए' श्रेणीका खेलाडीले कम्तिमा १५ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगको औपचारिक घोषणा गर्दै खेलाडीले पाउने रकमबारे जानकारी गराएको हो ।
क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लले 'ए' श्रेणीका खेलाडीले कम्तिमा १५ लाख पाउने बताए । यस्तै 'बी' श्रेणीका खेलाडीले कम्तिमा १० लाख र 'सी' श्रेणीका खेलाडीले कम्तिमा ५ लाख पाउने मल्लले बताए ।
नेपाल टी-ट्वान्टी लिग असोज ८ गतेबाट सुरु हुनेछ ।
टियु क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको फाइनल कात्तिक ५ गते हुनेछ ।
होम एण्ड अवेको आधारमा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने क्यानले जनाएको छ ।