काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल टी-ट्वान्टी क्रिकेट लिग सबैका लागि ठुलो उपलब्धि भएको बताएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगको घोषणा कार्यक्रममा बोल्दै कप्तान सन्दीपले यस प्रतियोगिता ठुलो उपलब्धि रहेको र प्रतियोगिता खेल्न उत्साहित रहेको बताएका हुन् ।
'यो सबैका लागि ठुलो उपलब्धी हो । यो प्रतियोगिता खेल्न हामी धेरै उत्साहित छौँ', सन्दीपले भने ।
क्यानले बुधबार पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगको आधिकारिक घोषणा गरेको हो ।
युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले प्रतियोगिताको औपचारिक घोषणा गरे ।
कप्तान सन्दीपले नेपाल टी-ट्वान्टी लिगले खेल र खेलाडीको विकास आफुले महशुस गर्ने गरेको बताए ।
यस्ता प्रतियोगिताले खेलाडीलाई आर्थिक रुपमा सहयोग गर्ने र नयाँ खेलाडीलाई मद्दत गर्ने सन्दीपको भनाई छ ।
'फरक अनुभूति हो । यस लिगले कसरी खेल र खेलाडीको विकास गर्छ भन्ने कुरा महसुश गर्न सक्छु', सन्दीपले भने, 'मैले अनुभव गरेको छु, खेलाडीसँग सेयर पनि गरेको छु । आर्थिक रूपमा खेलाडीलाई सहयोग गर्छ । यसले नयाँ खेलाडीलाई पनि मदत गर्छ ।'
नेपालको आधिकारिक टी-ट्वान्टी लिग रहेको प्रतियोगिता असोज ८ गतेबाट सुरु हुनेछ ।
टियु क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको फाइनल कात्तिक ५ गते हुनेछ ।
होम एण्ड अवेको आधारमा हुने लिग ६ टोलीको सहभागिता रहने क्यानले जनाएको छ ।