काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा युगान्डाविरुद्ध पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेल्दैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युगान्डाविरुद्धको टी-ट्वान्टी सिरिज महिला टोलीका लागि ऐतिहासिक सिरिज हुनेछ।
अन्तराष्ट्रिय क्रिकेटमा पाइला टेकेको १५ वर्षपछि महिला टोलीले पहिलो पटक घरेलु मैदानमा सिरिज खेल्न लागेको हो । नेपालले २००७ मा मलेसियामा भएको एसीसी महिला च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय क्रिकेट पाइलामा चालेको थियो ।

यस्तै महिला टोलीले घरेलु भूमिमा खेल्न लागेको यो दोस्रो अन्तराष्ट्रिय प्रतियोगिता हो ।
नेपालले २०१९ मा १३ औं साग गेम्सको आयोजना गरेको थियो । त्यहिँ समय महिला टोलीले पहिलो पटक घरेलु मैदानमा अन्तराष्ट्रिय क्रिकेट खेलेको थियो । साग अन्तर्गत पोखरामा भएको महिला क्रिकेटमा नेपालले कास्य पदक जितेको थियो ।
घरेलु भूमिमा पहिलो पटक अन्तराष्ट्रिय खेल खेलेको तीन वर्षपछि नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक सिरिज खेल्न लागेको हो ।
युगान्डाविरुद्धको सिरिज नेपालको दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज हो । यस अघि नेपालले कतारविरुद्ध गत मंसिरमा सिरिज खेलेको थियो । कतार भ्रमण गर्दै नेपालले ३ खेलको सिरिज क्लिन स्विप गरेको थियो ।
नेपाल घरेलु मैदानमा युगान्डालाई हराएर सिरिज आफ्नो बनाउने योजनामा रहेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले रुबिना क्षेत्रीको कप्तानीमा सिरिजका लागि टोलीको घोषणा गरिसकेको छ । अश्मिना कर्माचार्य र हिरणमायी रोय पहिलो पटक राष्ट्रिय टोलीमा अटाएकी छिन् ।

सिरिज अन्तर्गत नेपाल र युगान्डाबीचको पहिलो टी-ट्वान्टी भोलि सोमबार हुनेछ ।
यस्तै दोस्रो टी-ट्वान्टी जेठ ३ गते र तेस्रो टी-ट्वान्टी जेठ ५ गते हुनेछ ।
दुई टोलीबीचको चौंथो टी-ट्वान्टी जेठ ६ गते र अन्तिम टी-ट्वान्टी जेठ ७ गते हुनेछ ।
नेपाली टोली -
रुबिना क्षेत्री, सिता राना मगर, इन्दु वर्मा, काजल श्रेष्ठ, सरिता राना मगर, कविता कुँवर, अप्सरी बेगम,अश्मिना कर्माचार्य,संगीता राई, कविता जोशी,रोमा थापा,ज्योति पाण्डे,सबनम राई, डोली भट्ट,हिरणमायी रोय, बिन्दु रावल