काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान सिता राना मगर आबद्द टोर्नाडोस वुमेन्सले फेयर ब्रेक इन्भिटेसनल क्रिकेट प्रतियोगितामा जित निकालेको छ ।
दुबईमा बिहीबार भएको खेलमा टोर्नाडोसले फाल्कोन्स वुमन्सलाई ७ विकेटले हराएको हो ।
फाल्कोन्सले दिएको १ सय ३९ रनको लक्ष्य टोर्नाडोसले १९ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । टोर्नाडोसको जितमा कप्तान सोफी डिभाइनले ५२ रनको अर्धशतकीय इनिङ खेलिन् ।
त्यस्तै स्टेर कालिसले ५० रनको अर्धशतकीय इनिङ खेलिन् । सिता १८ रनमा अविजित रहिन् ।
फाल्कोन्सका गुन्जन शुक्लाले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको फाल्कोन्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ३८ रन जोडेको थियो ।
फाल्कोन्सका कप्तान सुजि बाटेसले अविजित ४१ रन जोड्दा डानीले ३२ रन जोडिन । मारिको हिलले २१ तथा चमारीले २० रन बनाईन ।
बलिङतर्फ सिताले ३ ओभरमा १९ रन खर्चिन । तर, सिताले एक खेलाडीलाई रन आउट गरिन् ।
यस जितसँगै टोर्नाडोसले ५ खेलमा ११ अंक जोडेको छ ।
टोर्नाडोस तेस्रो स्थानमा रहेको छ ।