काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु भूमिमा युगान्डासँग हुने महिला टी-ट्वान्टी क्रिकेट सिरिजको कमर्सियल एण्ड ब्राण्डिङ राइट्स लेभिन स्पोर्ट्स प्रालिलाई दिएको छ ।
क्यानले बुधबार विज्ञप्ति निकाल्दै लेभिन स्पोर्ट्ससँग सम्झौता गरिएको जनाएको छ ।
सम्झौता अनुसार नेपाल र युगान्डाबीचको पाँच खेलको टी-ट्वान्टी सिरिजको कमर्सियल, टिकेटिङ र ब्रोडकाष्टिङ अधिकार लेभिनसँग हुनेछ । क्यानले सम्झौता रकम भने खुलाएको छैन ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अफ्रिकी राष्ट्र युगान्डासँग जेठ टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेल्नेछ ।
टियु क्रिकेट मैदानमा हुने सिरिज अन्तर्गतको पहिलो टी-ट्वान्टी जेठ २ गते हुनेछ ।
दोस्रो टी-ट्वान्टी जेठ ३ गते र तेस्रो टी-ट्वान्टी जेठ ५ गते हुनेछ ।
यस्तै चौंथो टी-ट्वान्टी जेठ ६ गते र अन्तिम टी-ट्वान्टी जेठ ७ गते हुनेछ ।
