काठमाडौं । नेपालले पाहुना टोली जिम्बावे 'ए' विरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ ।
सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावेलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २-१ ले जितेको हो।
टियु क्रिकेट मैदानमा जिम्बावेले दिएको २ सय १४ रनको लक्ष्य नेपालले ३० ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा अर्धशतकीय इनिङ खेलेका कुशल भुर्तेलले ८४ रन बनाए । दिपेन्द्र सिंह ऐरीले अविजित रहदै ६० रनको अर्धशतकीय इनिङ खेले ।

आसिफ शेखले २९ रन जोड्दा सुनिल धमलाले ६ रन जोडे । रोहित पौडेल खाता नखोल्दै आउट भए ।
विनोद भण्डारी २८ रनमा अविजित रहे ।
जिम्बावेका ब्राण्डन माभुताले ३ विकेट लिए । ब्राड इभान्सले १ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ३२ ओभर १ बलमा अलआउट हुँदै २ सय १३ रन बनाएको थियो । मैदानमा पानी जमेकाले ढिला सुरु हुँदा खेल ३३ ओभरमा झारिएको थियो ।
जिम्बावेका लागि टाडीवानाशे मारुमानीले ५० रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै कुड्जाई मौन्जेले ३९ रन जोड्दा रोय कियाले ३६ रन बनाए ।
कप्तान टोनी मुन्योगाले २४, सेफासले १६ तथा इनोसेन्ट कियाले १२ रन बनाए । लुक जोग्वी १९ रनमा आउट भए ।
नेपालका किशोर महतोले ५ विकेट लिए ।
सोमपाल कामीले २ तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।
सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो । तर दोस्रो खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले हराएको थियो ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे 'ए' सँग सिरिज खेलेको हो ।
यस अघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो।