काठमाडौं । क्रिकेट खेलका अन्तर्राष्ट्रिय खेलाडी मकवानपुरका राम नरेश गिरीको नेतृत्वमा मकवानपुरमा क्रिकेट एकेडेमी स्थापना भएको छ ।
मंगलबार एक कार्यक्रमकाबीच राम नरेश गिरीको अध्यक्षतामा गठन गरिएको मकवानपुर क्रिकेट एकेडेमीको उद्घाटन गरिएको छ ।
नेपाल क्रिकेट संघको केन्द्रीय समिति सदस्य करण महत्राले मंगलबार हेटौँडा उपमहानगरपालिका वडा नं– ४, हुप्रचौरमा एकेडेमीको उद्घाटन गरे ।
राष्ट्रिय टिममा मकवानपुरका खेलाडीको सहभागिता बढाउन क्रिकेटका सिनियर खेलाडीको सहभागितामा एकेडेमी स्थापना गरिएको गिरीको भनाइ छ ।
विशेषगरी उमेर समूहका खेलाडी तयार पार्नुपर्ने औँल्याउनुहुँदै गिरीले भन्नुभयो, ‘उमेर समूहको राष्ट्रिय टिममा मकवानपुरका खेलाडी चयन हुन नसकेको धेरै भइसक्यो । उमेर समूहको राष्ट्रिय टिममा मकवानपुरको खेलाडीको सहभागिता बढाउनकै लागि पनि हामीले एकेडेमी स्थापना र सञ्चालन गर्ने निर्णय गरेका छौं ।’
जिल्ला, प्रदेश हुँदै राष्ट्रिय प्रतियोगिताका लागि राम्रा खेलाडी उत्पादन गर्न एकेडेमीको स्थापना महत्वपूर्ण हुने गिरीले बताए।
एकेडेमीमा अहिले नयाँ र पुराना गरी २५ जना खेलाडी आवद्ध भइसकेको एकेडेमीका सचिव प्रेम क्षेत्रीले जानकारी दिए ।
एकेडेमीले हेटौंडाको हुप्रचौरमा दैनिकरुपमा बिहान र दिउँसो प्रशिक्षण सञ्चालन गर्ने बताइएको छ । बिहान र दिउँसो २ घण्टाका दरले प्रशिक्षण गराउने सचिव क्षेत्रीले बताए । अहिले पुरुष खेलाडीलाई मात्रै प्रशिक्षण दिन सुरु गरेको एकेडेमीले छिट्टै महिला खेलाडीलाई पनि प्रशिक्षण सञ्चालन गर्ने बताइएको छ ।
एकेडेमीलाई व्यावसायिक बनाएर नयाँ खेलाडी उत्पादनमा ध्यान दिन नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य महत्राले बताए । मकवानपुर क्रिकेट एकेडेमीको उपाध्यक्षमा सुरेन्द्र अधिकारी, सचिवमा प्रेम क्षेत्री, कोषाध्यक्षमा रविन गुरुङ रहेका छन् ।
यस्तै सदस्यमा विनोद लामिछाने, मनोज खड्का, विवेक दाहाल, अमित राई र सन्देश ढकाल चयन भएका छन् ।
एकेडेमी उद्घाटन कार्यक्रममा मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठ, मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्वउपाध्यक्ष दिपेन्द्र ढकालको पनि उपस्थिति रहेको थियो ।