काठमाडौं । बाह्रबिसे कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मंसिर १६ गते सुरु हुने भएको छ ।
खुर्सानीबारी खेलकुद कर्भड हलको आयोजना र बाह्रबिसे नगरपालिकाको सह–आयोजनामा हुने प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने बताईएको छ ।
प्रतियोगितामा पुरुष एकल, शीर्ष २० वरियता बाहेकको पुरुष डबल, महिला एकल, भेट्रान्स डबल्स, स्थानीय पुरुष डबल्सको स्पर्धा राखिएको छ ।
करिब ६ लाख २० हजार रुपैयाँको नगद पुरस्कार रहेको प्रतियोगितामा पुरुष एकल, पुरुष डबल र भेट्रान्स डबल्समा समान ३ हजार दर्ता शुल्क राखिएको छ । महिला एकलमा १ हजार र स्थानीय पुरुष डबल्समा दर्ता शुल्क २ हजार राखिएको छ ।
पुरुष एकलको विजेताले १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । दोस्रोले ६५ हजार र तेस्रोले ३० हजार रुपैयाँ हात पार्नेछ ।
पुरुष डबल्सको विजेताले १ लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
महिला एकलको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १२ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछ ।
स्थानीय डबल्सको विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
सिल्क ग्रुप मुख्य प्रायोजक रहेको प्रतियोगिताका सबै खेलहरु खुर्सानीबारी खेलकुद कभर्ड हल बाह्रबिसे, सिन्धुपाल्चोकमा हुनेछ ।
प्रतियोगिताको सह–प्रायोजकको रुपमा प्रभु इन्स्योरेन्स, प्रभु पे, ब्ल्याक हर्स सू र क्षमादेवी ग्रुप जोडिएका छन्।