काठमाडौं । सशत्र प्रहरीको एपीएफ क्लबले २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
बाग्लुङको गल्कोटमा शनिबार भएको फाइनलमा डर्बी क्लब नेपाल पुलिस क्लबलाई ३ - ० को सोझो सेटमा हराउदै एपीएफ च्याम्पियन बनेको हो ।
उपाधि जित्ने क्रममा एपीएफले पुलिसलाई २५–२०,२५–१५ र २५–२३ को सेटमा पराजित गर्यो । उपाधिसंगै एपीएफले ५० हजार प्राप्त गरेको छ । उपविजेता पुलिसले ३० हजारमा चित्त बुझाएको छ ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तेस्रो भयो । तेस्रो स्थानको लागि भएको खेलमा आर्मीले प्रदेश नम्बर ५ लाई २५–१२, २५–९ र २५–१२ को सेटमा हरायो । आर्मीले २० हजार प्राप्त गरेको छ ।
प्रतियोगितामा एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी चुनिईन् । उनले १० हजार प्राप्त गरिन ।
व्यक्तिगत स्पर्धामा बेस्ट स्पाइकर आर्मीकी निरुता ठगुल्ना, बेस्ट सेटर पुलिसकी कमला पुन, बेष्ट सर्भर पुलिसकै कोपिला राना, बेस्ट ब्लकर एपीएफकी हिरा केसी र बेस्ट डिफेण्डर एपीएफकै मनिसा तामाङ घोषित भईन् । उनीहरुले समान ५/५ हजार प्रदान गरिनेछ ।
नेपाल भलिबल संघको आयोजना तथा बाग्लुङ जिल्ला भलिबल संघको व्यवस्थापनमा सुरु प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहेको थियो ।