काठमाडौं । कर्णालीको प्रदेश स्तरीय रंगशाला साढे २ वर्षमा बन्ने सम्झौता भएको छ ।
प्रदेश सरकारको पहिलो गौरवको आयोजनाको रुपमा रहेको प्रदेश रंगशालाको निर्माण सम्बन्धि सम्झौता पत्रमा आईतार हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा कर्णाली प्रदेशका मुख्य मन्त्री जिवनबहादुर शाहीको उपस्थितीमा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्जेल र निर्माण व्यवसायीका तर्फबाट हस्ताक्षर भएको थियो ।
सम्झौता अनुसार रंगशाला निर्माणको काम ३० महिनाभित्र सक्ने उल्लेख छ ।
मन्त्री परिषदको निर्णय अनुसार कर्णाली प्रदेश सरकारले पहिलो प्रदेशको गौरवको आयोजनाको रुपमा अन्तराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमा ६ वटा कम्पनी सहभागी भएका थिए ।
बोलपत्र अनुसार भारतीय कम्पनी साझेदार रहेको एम ए सी जि एस एल ज्वाइन्टभेन्टरले टेन्डर प्राप्त गरेको हो ।
इपीसी मोडलमा निर्माण गरिने रंगशालाको निर्माणमा १ अर्व ५१ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँ खर्च हुने बताईएको छ ।
बहुउद्धेश्य प्रकृतिको रंगशालामा फिफा मापदण्ड अनुसारको फुटबल मैदान सहित आइएएएफ मापदण्डको ८ लेनको एथ्लेटिक्सको ट्रयाक समेत बन्नेछ । रंगशालामा १० हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिने सम्झौतामा उल्लेख छ ।
प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सञ्जेलले निर्धारित समयमै रंगशाला निर्माणको काम सक्ने गरि काम अघि बढाईने बताए ।
उनले रंगशालाको निर्माणबाट दशौं राष्ट्रिय खेलकुद सहित राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगिता आयोजना र सञ्चालन गर्न कर्णाली प्रदेशमा राम्रो खेलकुद पूर्वाधारको अभाव पुरा हुने उल्लेख गरे ।
उनले कर्णालीको खेलकुदलाई पर्यटनसँग जोड्न सकेको अवस्थामा मात्र खेलकुदको विकास हुने बताए ।