काठमाडौं । चितवन टाईग्रेसले आदीअवादी महिला लिग भलिबलको उपाधि जितेको छ ।
बुधबार भएको फाइनलमा सशत्र प्रहरीको एपीएफ क्लबलाई ३ - ० को सोझो सेटमा हराएर चितवन च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कबर्डहलमा चितवनले एपीएफलाई २५ - २०, २५ - १७ र २५-१५ को सेटमा पराजित गर्यो ।
उपाधिसंगै चितवनले ६ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले ३ लाखमा चित्त बुझायो ।
यसअघि सेमिफाइनलमा चितवनले नेपाल पुलिस क्लब र एपीएफले न्युडायमण्डलाई हराएर फाइनलमा भेट पक्का गरेको थियो ।
प्रतियोगितामा न्युडायमण्ड एकेडमीले तेस्रो स्थान हासिल गर्यो । तेस्रो भएको न्युडायमण्डले १ लाख ५० हजार प्राप्त गर्यो ।
तेस्रो स्थानको लागि भएको खेलमा न्युडायमण्डले पुलिसमाथि २५-१८,२५-२१ र २५ - १९ को जित निकालेको थियो ।
प्रतियोगितामा चितवनकी अरुणा शाही उत्कृष्ट खेलाडी घोषित भईन् । अरुणाले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गरेकी छिन् ।
नेपाल भलिबल संघ र आदीअवादी फाउन्डेसनको आयोजनामा भएको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।