काठमाडौं । विभागीय त्रिभुवन आर्मी क्लबका दिल सुनार र प्रकाश थापाको जोडी ओप्स टु ‘ए’ साइड पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।
शनिबार भएको फाइनल खेलमा दिल र प्रकाशको जोडीले आयोजक ढोरपाटन क्लबका मनवीर छन्त्याल र सोभित रानाका जोडीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा पहिलो सेटमा दिल र प्रकाशको जोडीले पहिलो सेटमा १५–१२ को जित निकालेको थियो । दोस्रो सेटमा आर्मीको जोडी ११–१५ ले पछि पर्यो। त्यसपछिको दुवै सेटमा आर्मीको जोडीले १५–१० र १६–१४ को जित निकाल्न सफल भयो ।
हेम छन्त्याल र महेन्द्र शेरचनको जोडीले महेन्द्र छन्त्याल र देवेन्द्र श्रीषको जोडीलाई ३–० को सेटमा पराजित गर्दै तेस्रो स्थान हात पार्यो ।
उपाधिसँगै दिल र प्रकाशको जोडीले ४० हजार रुपैया प्राप्त गरेका छन् । दोस्रो स्थानमा चिक्त बुझाएका मनवीर सोभितको जोडीले २० हजार तथा तेस्रो भएको हेम छन्त्याल र महेन्द्र शेरचनको जोडीले ५ हजार रुपैया प्राप्त गर्यो ।
अर्गानाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को मुख्य प्रायोजनमा ढोरपाटन क्लबले आयोजना गरेको प्रतियोगितामा ३२ टोलीले १० गतेबाट प्रतिस्पर्धा गरेका थिए ।