एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार राति भएको रोमान्चक खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले पराजित गर्दै बैंगलोर शीर्ष स्थानमा उक्लिएको हो ।
अहमदाबादमा बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो ।
कप्तान ऋषव पन्त र शिम्रोन हिटमायरले अर्धशतकीय इनिङ्स खेलेपनि दिल्लीलाई जित दिलाउन सकेनन् ।
कप्तान पन्तले अविजित रहदै ५८ रन बनाए । हिटमायरले अविजित ५३ रन जोडे ।
यस्तै मार्कुस स्टोनिसले २२ रन जोड्दा पृथ्वी शले २१ रन बनाए ।
बैंगलोरका हर्सल पटेलले २ विकेट लिए । मोहमद सिराज र केली जेमिसनले १/१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।
बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७५ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै रजत पाटीदरले ३१ रन जोड्दा ग्लेन म्याक्स्वेलले २५ रन जोडे । कप्तान विराट कोहली १२ रनमा आउट हुँदा देबदुत पडिकलले १७ रन बनाए ।
दिल्लीका इशान्त शर्मा,कागिसो राबडा, अभेस खान, अमित मिश्रा र अक्षर पटेलले १/१ विकेट लिए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको बैंगलोरले लिगमा पाँचौं जित निकालेको छ । बैंगलोरले ६ खेलमा १० अंक जोडेको छ ।
दिल्ली ६ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।