एजेन्सी । चेन्नई सुपर किङ्सले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा चौंथो जित निकालेको छ ।
मुम्बईमा आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६९ रनले पराजित गर्दै चेन्नईले चौंथो जित निकालेको हो ।
चेन्नईले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो ।
बैंगलोरका लागि देबदुत पडिकलले सर्वाधिक ३४ रन बनाए । ग्लेन म्याक्सवेलले २२ रन जोड्दा केली जेमिसनले १६ रन बनाए ।
मोहमद सिराज १२ रनमा अविजित रहे । कप्तान विराट कोहली ८ रनमा आउट भए ।
चेन्नईका रविन्द्र जडेजाले ३ तथा इमरान ताहिरले २ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।
चेन्नईका लागि रविन्द्र जडेजाले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै फाप डु प्लेसिसले ५० रनको इनिङ्स खेल्दा रुतुराजले ३३ रन बनाए ।
सुरेश रैनाले २४ रन जोडे । बैंगलोरका हर्सल पटेलले ३ विकेट लिए ।
यस जितसँगै चेन्नई लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
चेन्नईले ५ खेलमा ८ अंक जोडेको छ ।
बैंगलोरको यो पहिलो हार हो ।
बैंगलोर ५ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।